नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने, प्रधानमन्त्री ओली पनि सहभागी हुने

बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको भए पनि अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भए पछि बालुवाटारमा तय गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।मङ्सिर २१ गते भने ओली उपस्थित हुनु भएको थिएन।  उहांले पत्र लेखेर आफू नआउनाको कारण खुलाउनु भएको थियो। मङ्सिर २१ गते सात दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावसहित सबै दस्तावेजहरू अध्ययनका लागि समय छुट्टयाइएको थियो।  दस्तावेज अध्ययनका अतिरिक्त यसबीचमा सहमति खोज्ने प्रयास पनि भए। ओली–प्रचण्डबीच एक्लाएक्लै छलफल पनि भएको थियो। 

यसैबीच ओली पक्षधर नेताहरुले स्थायी कमिटीको पूर्वसन्ध्यामा प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले हिजो साँझ प्रचण्डसँग भेटवार्ता गरेका हुन् भने सुवास नेम्बाङले आज बिहान भेट गर्नु भएको थियो ।