हिमालयको महत्व बुझेर सहयोग तथा सहकार्य गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,मंसिर,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताउनु भयो ।

भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई हिमालयको महत्व बुझेर सोही अनुसार सहयोग तथा सहकार्यलाई प्रभावकारी बनाउन सबैमा अपील गर्नुभयो ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटारेसले बिश्व जगतलाई जलवायु आपतकाल घोषणा गर्न अपील गर्नुभएको छ ।

महासचिव गुटरेसले वातावरण मैत्री तथा जलवायु परिवर्तनको प्रभाव कम हुने खालको विकासका लागि गरीब राष्ट्रहरुलाई सहयोग गर्ने प्रतिबद्धताबाट धनी राष्ट्रहरु पछि हटेको आरोप लगाउनुभएको छ ।

यसअघि धनी राष्ट्रहरुले सन् २०२० देखि वार्षिक सय बिलियन अमेरिकी डलर बराबरको रकम गरिब देशमा स्वच्छ विकास र जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि सहयोग गर्ने वचन दिएका थिए ।

पेरिस जलवायु सम्झौताको पाँच वर्ष पूरा भएको अवसरमा आयोजित सम्मेलनमा जलवायु वित्त विज्ञहरुले प्रस्तुत गरेको प्रतिवेदन अनुसार यो वर्ष वाचा गरिए अनुसारको सहयोग रकम पूरा हुने छैन ।

यस्तै विकसित वा धनी देशहरुले कोभिड १९ का कारण उत्पन्न भएको आर्थिक संकटमा पनि गरिब देशलाई उपयुक्त सहयोग नगरेको उहाँको भनाई छ ।

सम्मेलनमा विकासशील देशका नेताहरुले नयाँ तथा बलियो जलवायु योजनाका लागि आर्थिक सहयोगको खाँचो रहेकोमा जोड दिएका छन् ।