विश्वकप उपाधिको दाबेदार फ्रान्सको विजयी सुरुवात

फ्रान्स संग अष्ट्रेलिया २–१ ले पराजित

काठमाडौं, असार,२-

विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ ।

रुसमा जारी प्रतियोगिताअन्तर्गत आज शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको दोस्रो हाफमा फ्रान्सका लागि एन्टोइन ग्रीजमन र पउल पोग्बाले १–१ गोल गरे ।

ग्रीजमनले खेलको ५८औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए भने पोग्बाले ८१औं मिनेटमा अर्को गोल थपे ।

यस्तै अष्ट्रेलियाका मिले जेडिनकले खेलको ६२औं मिनेटमा पेनाल्टीमार्फत् नै गोल गरेका थिए ।

यसैगरी : साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ ।दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि दावेदारको रुपमा हेरिएको छ ।

सानो युरोपली मुलुक आईसल्याण्ड भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ९ वजे सुरु हुनेछ ।

आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमने सामने हुनेछन् ।