नयाँ वर्ष २०७९ साल आजबाट शुरु, वार्षिक राशिफल सहित

फाईल तस्विर ।।

काठमाडौं,वैशाख,१-नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७८ साललाई बिदा गरी वर्ष २०७९ साल आज(बिहिबार)बाट सुरु भएको हो ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि मनाउँदै छन् ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा/आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी नयाँ वर्षमा सफलता मिलोस भन्दै एक अर्कामा शुभकामना व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् ।आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ ।

यस वर्ष नेपालका विभिन्न ठुला शहरहरुमा भव्य साँगीतीक साँझ,कन्सर्टको आयोजना गरि २०७८ लाई विदाई गर्दै नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिंदै आएको छ  ।

अब हेरौं सबैको वार्षिक राशिफल !!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

मेष राशिका लागि नयाँ वर्ष २०७९ सालमा अधिकतम क्षेत्रमा सफलता प्राप्त हुनेछ । जागिर खानेहरूले कडा परिश्रम गर्नुपर्छ । शिक्षादीक्षाको क्षेत्रमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ, तर उच्च शिक्षाका छात्रछात्राका लागि समय अनुकूल रहनेछ । विदेशमा पढ्ने बाटो खुल्नेछ । बरु यस अवधिमा घरपरिवारको माहौलमा केही धूमिलता देखापर्न सक्छ, पिता वा अभिभावकसँग विवाद पनि हुनसक्छ । प्रेम र प्रणय भावको क्षेत्रमा समय राम्रो रहनेछ । प्रेममय, हर्षोल्लास र उमङ्गको वातावरण रहेको छ, कतिपयले अचानक विवाहको बन्धनमा बाँधिने योजना पनि बनाउन सक्छन् । तर आर्थिक मामिलामा चिन्ता बढ्नेछ । अनावश्यक र फाल्तु विषयमा धन खर्च हुनाले तनावमा बृद्धि हुनेछ । भ्रमण, मनोरञ्जन र भोगविलासको क्षेत्रमा धनको प्रवाह बढ्नेछ, तर धनागमको बाटो खुल्ला रहनेछ । स्वास्थ्य बलियो रहनेछ र कुनै पुरानो रोग छ भने त्यसबाट मुक्ति पाउन सक्नुहुन्छ ।

समग्रतामा यो वर्ष उन्नतिको वर्ष नै हो । विदेश वा लामो दूरीको यात्रा सफल हुनेछ । वाहनादिको प्रबन्धन वा खरिदका लागि राम्रो योग छ । भूमिको क्रय/विक्रयमा सरलता हुनेछ । लोकप्रियतामा बृद्धि हुनेछ ।घरपरिवारमा आपसी तालमेल र सामञ्जस्य कमी भए पनि सामञ्जस्यको वातावरण कायम रहनेछ । हाँकेताकेका कार्यहरू सरलताका साथमा सम्पन्न हुनेछन् । व्यवसायिक गतिविधिमा राम्रै देखिन्छ।कुटुम्बका बीचमा कुनै असमझदारी वा तनाव छ भने समाप्त हुनेछ ।ठूलाबडासँगको सङ्गतले उन्नतिपथमा अघि लम्कन मद्दत गर्नेछ।विद्यार्थीहरूको पठनपाठनमा ध्यानकेन्द्रित हुनसक्दैन । वैवाहिक जीवनमा राम्रै छ । नोकरीमा सङ्घर्षको स्थिति देखिन्छ । सामान्यतया वैशाख, असार, मङसिर र फाल्गुन महिना कष्टदायी रहनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

वृष राशिका लागि २०७९ साल मिश्रित प्रभावका साथमा उपस्थित भएको छ । परिश्रमको फल प्राप्त हुने समय छ । करियरमा उत्तरोत्तर प्रगति हुनेछ, नोकरी र कार्यस्थलमा सफलता पाइनेछ । विद्यार्थीहरूका लागि यो उच्च स्तरको सफलता पाउने समय हो । प्रेमजीवनका लागि समय राम्रो रहनेछ र विवाहित व्यक्तिको घरपरिवार र दाम्पत्य जीवनमा सुखसमृद्धि देखिनेछ । तर पनि पतिपत्नी र प्रेमीप्रेमिकाको सम्बन्धमा केही समस्या देखा पर्नेछ, अचानक कलह बढ्ने वा सम्बन्धमा नै फाटो आउने परिस्थितिसमेत रहेको छ । अनावश्यक खर्चमा बृद्धि हुनेछ र आर्थिक मामिलामा केही झमेलासमेत आउन सक्छ । गैरकानुनी र अनैतिक कारोबारमा संलग्न हुनुहुन्छ भने दण्डसजाय भोग्नुपर्ने र अड्डाअदालत धाउनुपर्ने परिस्थिति पनि बन्नसक्छ । स्वास्थ्यपक्षमा सामान्य समस्या उत्पन्न हुनेछ तथा दुर्घटना, चोटपटक र चिरफारको परिस्थिति बन्नसक्ने समय भएकाले स्वास्थ्यस्थितिप्रति गम्भीर बन्ने समय हो ।

समग्रतामा बृष राशि हुने व्यक्तिहरूका लागि यो राम्रो समय साबित हुनेछ, घरपरिवारमा धार्मिक कार्यक्रम सम्पन्न हुनेछ । दाजुभाइ वा दिदीबहिनीबाट सहायता मिल्नेछ । नयाँ घरघडेरी वा सम्पत्ति जोड्न अनुकूल समय छ । धनसङ्ग्रहका निमित्त मातापिताको सहयोग मिल्नेछ । विद्यार्थीहरूमा पठनपाठनको अभिरूचि बढ्नेछ । सन्तति र भाइबहिनीप्रतिको भावनात्मक लगावमा बृद्धि हुनेछ । सरकारी, प्रशासनिक वा कोर्टकचहरीका काममा मन्द गतिले प्रगति हुनेछ । वैवाहिक जीवन सुखी रहनेछ । नोकरीमा बढुवा वा प्रशंसाको योग बनेको छ । राजनीति र सामाजिक जीवनमा मतभेद र सङ्घर्षको स्थिति देखिन्छ । मनमा नैराश्य र वैराग्यका भावना देखा पर्नेछन् । सरकारी काम पूर्ण हुनाले आगामी कार्यका लागि मार्ग प्रशस्त हुनेछ ।घरायसी वातावरण शान्त, सुखद र रमणीय रहनेछ । शेयर कारोबारमा लागेका व्यक्तिका लागि यो वर्ष राम्रो साबित हुनसक्छ । सामान्यतया जेठ, भाद्र र माघ महिना फलका दृष्टिले कमजोर रहनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मिथुन राशि हुने जातकका लागि कार्यक्षेत्र र विद्याध्ययनका दृष्टिले नयाँ वर्ष २०७९ साल उत्कृष्ट समय रहनेछ । नोकरी र व्यवसायमा स्तरबृद्धि र पदोन्नतिको योग बनेको छ । नयाँ रोजगारीको आवश्यकता भएका व्यक्तिको मनोकामना पूरा हुने वर्ष हो । विद्यार्थीहरूका लागि अनुकूल वर्ष हो, अझ प्रायोगिक र प्राविधिक क्षेत्रका शिक्षार्थीलाई तथा अनुसन्धान वा अन्वेषणको क्षेत्रका छात्रछात्रालाई विशेष सामर्थ्य प्राप्त हुनेछ । किशोरावस्थाका छात्रछात्रामा उच्छृङ्खलता बढ्ने समय हो । पारिवारिक वातावरण रमाइलो रहनेछ, प्रेमजीवन र दाम्पत्य सम्बन्धमा भने उतारचढाव भइरहनेछ । पुराना जोडीहरूमा पनि विवाद र कलहको योग बनेको छ । व्यर्थ र फाल्तु खर्चको मात्रामा बृद्धि हुनेछ । व्यक्तिगत स्वास्थ्य राम्रो रहनेछ, तर पिताजीको स्वास्थ्यस्थितिमा भने समस्या आउन सक्छ ।

समग्रतामा मिथुन राशि हुनेहरूका लागि यो वर्ष अष्टम भावमा बसेको शनिको अढैयाको प्रकोप रहने वर्ष हो । कार्यक्षेत्रमा अनेकानेक कठिनाइ र हण्डरठक्करको सामना गर्नुपर्छ, परिणाम मानसिक रूपमा निर्बल बन्ने सम्भावना हुन्छ । स्वास्थ्यसम्बन्धी सानातिना समस्याहरू झेलिरहनु पर्छ । सुरुमा झमेला र सङ्घर्षको स्थिति भए पनि अन्त्यमा कार्य सफल हुनेछ । यस अवधिमा अनावश्यक वादविवाद र कोर्टकचहरीको चक्रबाट जोगिनु बेस हुनेछ । वर्षको मध्यभागमा लामो दूरी वा वैदेशिक प्रयोजनको यात्राको सम्भावना देखिन्छ । दाजुभाइ र दिदीबहिनीसँग सुमधुर र आत्मीय सम्बन्ध रहनेछ । जग्गाजमिन र घरघडेरीको क्रयविक्रयको कामबाट लाभ लिन सकिनेछ । विद्यार्थीहरूले राम्रो रिजल्टका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वैवाहिक जीवनमा पतिपत्नीका बीचमा वैचारिक मतभेद देखापर्नेछ । नोकरीमा स्थानान्तरणको योग छ, सरुवा हुने वा कामविशेषले घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ । सामान्यतया श्रावण, मङ्सिर र चैत्र महिना कष्टदायक मानिन्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कर्कट राशिका जातकले नयाँ वर्ष २०७९ सालमा मिश्रित फल प्राप्त गर्नेछन् । जागिर वा रोजगारीको प्रयासमा रहेका व्यक्तिका लागि यो वर्ष चुनौतीपूर्ण रहनेछ । अफिसमा सिनियर कर्मचारीसँग मतभेद हुने सम्भावना छ । छात्रछात्रा र किशोर अवस्थाका व्यक्तिको मन चञ्चल रहनेछ र अध्ययनप्रतिको झुकाव देखिंदैन । व्यवहारिक र स्वास्थ्यगत कारणले पठनपाठनमा बाधा हुनेछ । नातागोता, घरपरिवार र कुटुम्बका साथमा झैझगडा र कलहको योग बनेको छ । दाम्पत्यसुखमा पनि त्यत्ति राम्रो फल पाइने छैन । आर्थिक मामिलामा पनि केही चुनौती र कठिनाइको सामना गर्नुपर्ने हुन्छ, उधारो वा सरसापटीमा गएको धनले तनाव बढाउनेछ । तर जगल्लग्नमा राशिपति चन्द्रमा तपाईंको राशिको दोस्रो घरमा बसेकाले बुद्धिकौशल र वाक्पटुताका माध्यमबाट जस्तै विपरीत परिस्थितिलाई पनि सहज बनाउने हिम्मत र साहस जुट्ने समय हो ।

समग्रतामा कर्कट राशिका लागि यो वर्ष उत्तम वर्ष साबित हुनेछ । धनार्जनका बाटोमा देखिएका बाधा/अड्चनहरूको अन्त्य हुनेछ । इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ । भौतिक सुख बढाउने भोगविलासका वस्तुहरू र तिर्सना मेट्ने क्रममा खर्चको मात्रा बढ्नसक्छ । घरायसी र पारिवारिक समस्याको अन्त्य हुनेछ । अभिभावक वर्ग र मातापिताका साथमा राम्रो सम्बन्ध कायम हुनेछ । प्रतिष्ठित र सम्मानित व्यक्तित्वसँग भेटघाट हुने तथा सरसहयोग लिन सकिने समय छ । विद्यार्थीहरूले मिहिनेत गर्ने, पढाइप्रति जागरुकता उत्पन्न हुने तथा राम्रो रिजल्ट निकाल्ने वर्ष हो । गृहस्थीजनको सन्ततिहरूसँग मतभेद बढ्ने समय हो । कोर्टकचहरी र प्रशासनिक समस्याको समाधान हुनेछ । वैवाहिक जीवनमा उदासीन सम्बन्ध रहनेछ, तर यथासम्भव तालमेलका लागि प्रयास गर्नु वाञ्छनीय देखिन्छ । नोकरीमा सामान्य छ, पुराना समस्या वा तनाव छन् भने तिनको समाधान हुनेछ । सामान्यतया जेठ, असार र पुस महिना कमजोर रहनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सिंह राशि हुने जातकका लागि नयाँ वर्ष २०७९ साल सामान्य नै रहनेछ । वर्षारम्भमा कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ने हुन्छ, तर मिहिनेतअनुसार कार्यमा सफलता नै मिल्नेछ । विदेशमा गएर पढ्न रहर गर्ने छात्रछात्राको सपना पूरा हुनेछ । वाक्पटुता र बुद्धिकौशलमा बृद्धि हुनेछ । परिवारमा एकता हुनेछ र एकअर्काप्रति प्रेम र सद्भाव बढ्नेछ । पिताको साथसहयोग मिल्नेछ, तर उहाँको कार्यक्षेत्र र स्वास्थ्यस्थितिमा भने समस्या देखिनसक्छ । प्रेमसम्बन्ध, वैवाहिक जीवन र पारिवारिक सुखमा केही निरसता देखापर्न सक्छ । आम्दानीमा सहजता नै देखिन्छ, तर खर्चको मात्रामा पनि बृद्धि भइरहन्छ । स्वास्थ्यपक्ष बलियो देखिन्छ, तर वर्षान्तमा कण्टक शनिको प्रभावले पारिवारिक झैझगडा र कलहको परिस्थिति सिर्जना गर्नेछ ।

समग्रतामा यो वर्ष उन्नतिकारक वर्ष हो । घरपरिवारमा खुसीको वातावरण देखिनेछ । रोकिएको वा फँसेको धन हात पर्नेछ । विदेश वा वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ पाइनेछ । आर्थिक उन्नतिका लागि गरिएको प्रयासमा सफलता पाइनेछ । सङ्गीत, गायन, चित्रकला वा मनोरञ्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । दाजुभाइ र दिदीबहिनीसँग पारस्परिक सम्बन्धमा सौहार्द्रता देखिनेछ । नवीन सम्पत्ति खरीदबिक्रीका लागि उचित समय छ । विद्यार्थीको उच्चशिक्षा वा वैदेशिक प्रयोजनको कामधाममा राम्रो सम्भावना बनेको छ । प्रेमसम्बन्ध र गोप्य सम्बन्धका लागि एकअर्कामा तालमेल र सामञ्जस्य कायम हुने समय हो । सन्तानपक्षको उन्नतिको बाटो खुल्नेछ । विरोधी पक्षको दबाबमा कमी आउनेछ । दाम्पत्य सुखमा बृद्धि हुनेछ । तीर्थस्थलको वा विदेश यात्राको योग छ । व्यवसायिक उन्नतिका साथ व्यक्तित्व विकासको राम्रो योग बनेको छ । परिवारमा सँगै बस्नेका तुलनामा घरबाहिर बस्नेका लागि अझ राम्रो समय देखिन्छ । असार, कार्तिक र फाल्गुन महिना कमजोर रहनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कन्या राशिका लागि नयाँ वर्षले राम्रो फल दिनेछ । यो जीवनको नयाँ आयाम सुरु गर्ने वर्ष हो । विवाह नभएकाहरूको विवाह हुन्छ, छोराछोरी नभएकाले चाहेको सन्तान पाउनेछन्, जागिर छैन भने रोजगारीको नयाँ अवसर प्राप्त हुन्छ अनि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने थप जिम्मेबारी र पदप्रतिष्ठा प्राप्त हुनेछ । वैदेशिक यात्राको योग बनेको छ, नोकरीमा कार्यरत व्यक्तिले नयाँ अवसर प्राप्त गर्नेछन् । सरकारमार्फत सम्मान प्राप्त हुनेछ । व्यापारमा नयाँ दिशा प्राप्त हुनेछ । प्राविधिक विषयका विद्यार्थी तथा खेलकुद र साहसी क्रियाकलापमा संलग्न व्यक्तिले पनि राम्रो सफलता प्राप्त गर्नेछन् । अन्य क्षेत्रका शिक्षार्थीका लागि कडा परिश्रमपछि सफलता पाइनेछ । बन्दव्यापार र दाम्पत्यसुखमा सकारात्मक फल पाइनेछ । प्रेमजीवनमा भने उतारचढाव आउनेछ, जिम्मेवार बन्न नसक्दा चलिरहेको प्रेमसम्बन्धमा ब्रेकसमेत हुनसक्छ । धनसम्पत्तिको क्षेत्रमा पनि केही जोखिम र झमेला व्यहोर्नुपर्ने हुन्छ । रकमकलम चोरी हुने खतरा छ ।

समग्रतामा कन्या राशिका व्यक्तिहरूका लागि यो वर्ष शान्तिकारक वर्ष हो । सकारात्मक उद्देश्य र लक्ष्यमा सफलता पाइनेछ । नयाँ जोडी बाँध्न, नवीन रोजगारीका लागि प्रयास गर्न तथा नयाँ सन्तानको योजना बनाउन राम्रो समय छ । पुराना जोडीको जीवनसाथीको स्वास्थ्यस्थितिमा समस्या हुने तथा उतारचढाव आउने समय रहेकाले कुनै चिरफारजन्य रोगको सम्भावनासमेत देखिन्छ । पतिपत्नीमा विनाकारण मतभेद र झैझगडाको परिस्थिति सिर्जना हुनेछ ।

घरायसी वादविवाद र झैझगडाले तनाव बढाउने भएकाले बोलीवचन र व्यवहारमा संयमता अपनाउनु ठीक हुन्छ । विद्यार्थीहरूमा महत्त्वाकाङ्क्षा र अधिक आत्मविश्वासका कारण निराश हुने सम्भावना छ, त्यसैले पढाइमा निरन्तरता र लगनशील बन्नु जरुरी छ । सन्ततिका आचरण र रोगव्याधिसमेत चिन्ता बढाउने विषय बन्नसक्छन् । कोर्टकचहरी र मुद्दामामिलामा विजय प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीसँग सहयोग आदानप्रदान हुनसक्छ । जग्गाजमिन, घरघडेरी वा कुनै स्थिर सम्पत्ति जोड्ने योग छ । मातापिताको स्वास्थ्यस्थितिमा उतारचढाव आउनेछ । व्यवसायीहरूका लागि राम्रो समय रहनेछ, नोकरीमा पनि उन्नति हुनेछ । सामान्यतया जेठ, श्रावण र पौष महिना कमजोर समयका रूपमा देखिएका छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तुला राशि हुने व्यक्तिका लागि यो नयाँ वर्ष २०७९ साल मिश्रित प्रकृतिको समय रहनेछ, वर्षको अधिकतम समय दौडधूप र सङ्घर्षको परिस्थिति बन्नेछ । चुनौतीका बीचमा काममा प्रगति हुनेछ, हाँकेताकेका लक्ष्यको पूर्ति हुनेछ, कार्यक्षेत्रमा परिवर्तन हुने वा नयाँ कामको थालनी हुने सम्भावना पनि देखिन्छ । निजी क्षेत्रमा कार्यरत व्यक्तिले भने जति खटे पनि जस पाउन नसक्ने समय हो । बरु घरपरिवारमा अनेकानेक समस्याहरू एकपछि अर्को गर्दै देखापर्न सक्छन् । तर आपसी तालमेल जसरी भए पनि कायम रहने तथा धनप्राप्तिमा सहजता रहनाले हरेक समस्या र चुनौतीको सरलताका साथमा सामना गर्न सकिनेछ । दाजुभाइका बीचमा मनमुटाव बढ्ने तथा र सम्पत्तिसम्बद्ध समस्या देखा पर्नेछ । प्रेम सम्बन्धका दृष्टिले राम्रै समय छ । शत्रु बलिया देखिन्छन्, तथापि विजय तपाईंकै पोल्टामा पर्नसक्छ । शरीर स्वस्थ रहनेछ । पार्टी, भोजभतेर वा माङ्गलिक कर्मको आयोजना गर्नाले थप व्ययभार बढ्नसक्छ । आम्दानीमा कमी आउने समय होइन, तथापि पुरानो ऋणकारोबार मिलाउन हम्मेहम्मे पर्नेछ ।

समग्रतामा बताउँदा यस वर्ष पनि शनिश्चरको अढैया दशाको प्रभाव रहने समय हो । विगतको सङ्घर्षको परिस्थिति यथावत् रहनेछ । मिहिनेत धेरै गर्नुपर्ने तथा प्रतिफल थोरै प्राप्त हुने समय हो । सन्तान र भाइबहिनीका तर्फबाट शुभ समाचार प्राप्त हुनेछ । भूमि, भवन अथवा वाहन लाभको योग बनेको छ, अथवा उक्त क्षेत्रसम्बन्धी काममा उपलब्धी मिल्नेछ । दाम्पत्य जीवनमा खट्पट र कलहको योग बनेको छ । सार्वजनिक क्षेत्रको काममा प्रतिष्ठा मिल्नेछ । लामो यात्रा वा वैदेशिक प्रयोजनको यात्राको योग बनेको छ । विद्यार्थीले पठनपाठनमा रुचि देखाउनेछन्, कुनै विशेष क्षेत्रमा राम्रो रिजल्ट निकाल्न सक्षम बन्नेछन् । प्रेमसम्बन्ध दृष्टिले राम्रो समय छ, सिङ्गल हुनुहुन्छ भने समुचित प्रेमप्रस्ताव आउनेछ । कुनै पर्यटकीय स्थलको यात्रा हुनेछ । शत्रुपक्ष बलिया रहेकाले सजगताका साथमा काम गर्नुपर्ने हुन्छ । व्यापार/व्यवसायमा लाभ हुनेछ । आजीविकाको खोजीमा रहेकाले राम्रो स्थान प्राप्त गर्नेछन् । नोकरीमा पदोन्नति र सरुवाको योग बनेको छ । सामान्यतया वैशाख, कार्तिक र माघ महिना कमजोर रहनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

वृश्चिक राशिका लागि यस वर्षले अधिकतम क्षेत्रमा सफलता दिलाउनेछ, तर केही क्षेत्रमा चुनौती र कठिनाइको सामनासमेत गर्नुपर्ने हुन्छ । पराक्रम र प्रतिष्ठा बृद्धिका लागि परिश्रम गर्नुपर्ने समय हो । सामाजिकता र नेटवर्किङको क्षेत्रबाट लाभ पाइनेछ । तर कतिपय प्रसङ्गमा सङ्घर्षको परिस्थितिसमेत बन्नसक्छ । उता अन्तिमका दुई महिनामा कार्यालयमा सहकर्मीसँग मनमुटाव हुनेछ र मानसम्मानमा दाग लाग्ने परिस्थितिसमेत बन्नसक्छ, सचेत हुनुपर्छ । शिक्षादीक्षाका क्षेत्रमा र विशेषत: छात्रछात्राका लागि यो उत्कृष्ट वर्ष रहनेछ । पारिवारिक जीवनका आधारमा राम्रो समय छ । नयाँ घरघडेरी वा जग्गाजमिन आदि स्थिर सम्पत्तिको जोडजाम हुनेछ । घरमा कुनै शुभ कार्य सम्पन्न हुनेछ । व्यक्तित्व विकास हुनुका साथै घरपरिवारमा माया र प्रेमभाव कायम रहनेछ । प्रेमिकासँगको सम्बन्ध सुमधुर रहनेछ । पतिपत्नीको सम्बन्ध पनि मिठासपूर्ण नै रहनेछ । व्यवसायीका लागिसमेत यो अनुकूल वर्ष रहेको छ, कार्यक्षेत्र र बाह्यसम्बन्धमा राम्रो फल पाइने छ, तर सानातिना रोगले सताउन सक्ने समय हो ।

समग्रतामा भन्नुपर्दा बृश्चिक राशिका व्यक्तिका लागि यो वर्ष भनेजस्तो सजिलो रहने छैन । आर्थिक मामिलामा भोगविलास र सुविधाबृद्धिका लागि खर्च बढ्नेछ । घरायसी, पारम्परिक र बाध्यताका खर्चमा ह्वात्तै बृद्धि हुनेछ । आमाको स्वास्थ्यस्थितिमा प्रतिकूलता देखिनेछ । लामो दूरीको यात्रा वा विदेश यात्राको योग त बनेको छ, तर ठगी वा जालझेलमा पर्ने सम्भावनासमेत रहेको छ । कानूनी पक्ष र प्रशासनिक समस्याले बन्नै लागेको काममा पनि अवरोध आउने वा विलम्ब आउने लक्षण छ । सन्तानका तर्फबाट चिन्ता बढ्नेछ । दाजुभाइ र दिदीबहिनीका बीचमा तालमेलमा कमी देखिनेछ । प्रेमसम्बन्धका दृष्टिले पनि राम्रो समय छैन । वैवाहिक जीवन र घरायसी परिस्थितिमा पनि कमजोरी देखिन्छ । व्यवसायमा लाभ प्राप्त हुनेछ । जग्गाजमिन, घरघडेरी र स्थिर सम्पत्ति जोड्ने प्रयास सफल हुनेछ । सामाजिक सम्मान र मानप्रतिष्ठामा विकार आएको समय हो, अत: धार्मिक वा नैतिक दृष्टिले अशुभ मानिएका कामबाट टाढा रहनु ठीक हुन्छ । सामान्यतया यस वर्षको जेठ, पुस र चैत्र महिना कमजोर ठहरिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

धनु राशिका व्यक्तिहरूमा राम्रो फल प्राप्त हुने समयका रूपमा नववर्ष २०७९ को आगमन भएको छ । सरकारी सेवामा रहेका व्यक्तिका तुलनामा यो वर्ष निजी क्षेत्र वा स्वतन्त्र व्यवसायीहरूले बढी शुभफल प्राप्त गर्नेछन् । नयाँ व्यापारव्यवसाय सुरु गर्न अनुकूल समय छ, भर्खरै कारोबार सुरु गर्ने व्यक्तिको उत्तरोत्तर प्रगति हुनेछ । प्रतिस्पर्द्धात्मक परीक्षाको तैयारीमा रहेका छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्नेछन् । त्यस्तै शिक्षादीक्षालाई माध्यम बनाएर विदेशयात्राको योजनामा रहेका व्यक्तिले चाहेको परिणाम प्राप्त गर्नेछन् । तर कार्यक्षेत्रमा अनेकानेक समस्या र हण्डरठक्कर खेप्नुपर्ने समय छ । सुरुमा आर्थिक मन्दी हुने तथा कुटुम्ब र परिवारका सदस्यहरूका बीचमा कलहको वातावरण बन्ने परिस्थिति देखिए पनि वर्षान्तमा घरपरिवारका वयोवृद्ध व्यक्तिको सामीप्य र सहयोग पाइने तथा उहाँको मार्गदर्शनले घरको वातावरणमा सुधार आउने सङ्केत छ । प्रेमीप्रेमिका र पतिपत्नीको अन्तर्सम्बन्धमा धूमिलता आउनसक्छ, त्यसैले आपसी व्यवहार र आचरणमा अनुशासित हुनु राम्रो हुन्छ । स्वास्थ्यका दृष्टिले पनि बलियो समय छैन, खुट्टा र आँखासम्बन्धी रोगको जोखिम रहेको छ ।

समग्रतामा धनु राशिका व्यक्तिको खुट्टा (पाउ) मा साढेसातीको प्रभाव रहने वर्ष हो, सं. २०७९ साल । रोजगारीको क्षेत्रमा सामान्य बदलाव आउन सक्छ । चलिरहेको झैझगडा, विवाद वा मुद्दामामिलामा निकास पाउन त्याग गर्नुका साथै मेलमिलापको बाटो अख्तियार गर्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीले तपाईंविरुद्ध कुनै न कुनै तानाबुना रचिरहेका हुनेछन्, तर पनि हानि र पराजय भोग्नु पर्दैन । सन्ततिको उन्नतिप्रगतिका लागि राम्रो समय छ, तर स्वास्थ्यस्थिति र आचरणप्रति चनाखो हुनुपर्छ । राज्यपक्षबाट लाभ पाइनेछ । पुरानो कर्जा चुक्ता हुनेछ, वा नयाँ ऋणकारोबारको अनुकूलता मिल्नेछ । फँसेको वा कतै अड्किएको रकमकलम हातपार्न सकिनेछ । धार्मिक कृत्यमा खर्च बढ्नेछ । सरकारी र प्रशासनिक समस्यामा नउल्झिनु बेस होला, नत्र जेलनेलको योगसमेत बनेको छ । विद्यार्थी वर्गका लागि सामान्यतया यो वर्ष ठीकैको समय देखिन्छ । स्वास्थ्य पक्षमा समेत उतारचढाव आइरहनेछ । नोकरीमा उपलब्धी हासिल हुनेछ, व्यापारी वर्गका निमित्त अलि बढी मिहिनेत गर्नुपर्ने हुन्छ । सामान्यतया आषाढ, कार्तिक र पौष महिना कमजोर देखिन्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मकर राशिका लागि यो समय निकै राम्रो रहेको छ । कार्यक्षेत्र र दैनिकीमा केही चुनौती, बाधा/अड्चन र झमेला त व्यहोर्नुपर्छ, तथापि उन्नतिको पथमा लम्किरहने वातावरण प्राप्त हुनेछ । नोकरीमा पदोन्नतिको योग छ र हाकिम वा अधिकारीबाट प्रशंसा, सम्मान र सहानुभूति मिल्नेछ । रोजगारीको सिलसिलामा विदेश जान सकिन्छ । बन्दव्यापार फस्टाउनेछ । आम्दानीको मार्गमा सहजता आउनेछ । ज्ञानगुन र शिक्षादीक्षाको क्षेत्रमा रहेका हरेक व्यक्तिको उद्देश्य सार्थक र फलदायी बन्नेछ । मुख छुच्चो बन्नेछ, माइती, मावली र ससुराली पक्षको अप्रिय समाचार सुन्नुपर्ने हुन्छ । प्रेमसम्बन्धमा राम्रो रहनेछ, दाम्पत्य जीवन पनि सुखमय रहनेछ । बन्दव्यापारमा संलग्न व्यक्तिहरू र निजी क्षेत्रका जागिरेले परिश्रमको पूर्ण फल प्राप्त गर्ने समयावधि हो । स्वयं आँफूलाई तथा घरपरिवारमा कुनै न कुनै रोगले सताइरहने समय हो, वर्षान्तमा आँखाको समस्या र रगत सम्बन्धी रोगले दु:ख दिनसक्छ, सचेत हुनुपर्छ ।

समग्रतामा नयाँ वर्ष २०७९ सालमा मकर राशिका व्यक्तिको हृदयमा शनिको साढेसातीको प्रभाव रहनेछ । मानसिक चिन्तामा बृद्धि हुनेछ । वादविवाद र कलहको वातावरण रहनेछ । निरर्थक दौडधूप र भागम्भाग गर्ने परिस्थिति छ, भनेजस्तो सफलता नमिल्दा थप असन्तुष्टि बढ्नेछ । हरेक काममा बाधा/अड्चन आउने वा दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्नेछ । प्रशासनिक समस्या वा कोर्टकचहरीको काममा कुनै निकास देखिंदैन । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ, तर सन्तानको चिन्ताले सताउनेछ । कुनै नयाँ कामको थालनी गर्ने मनसायमा हुनुहुन्छ भने सफलता प्राप्त हुनेछ । नयाँ वाहनको योग बनेको छ । विद्यार्थीले आफ्नो प्रतिष्ठा कायम राख्न थप मिहिनेत गर्नुपर्ने समय हो । धार्मिक, पारम्परिक र व्यवहारिक प्रयोजनका क्षेत्रमा खर्चमा बृद्धि हुनेछ । बन्दव्यापारमा मिश्रित फल प्राप्त हुने समय हो । सामान्यतया यस वर्षको जेठ, पुस र फाल्गुन महिना कमजोर रहनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कुम्भ राशि हुने व्यक्तिका लागि यो वर्ष पनि चुनौती र सङ्घर्षले भरिएको समय रहनेछ । तर कतिपय विषयमा कडा मिहिनेत गर्नुका साथै चुनौती झेलेर सफलतासमेत पाउन सकिन्छ । जागिरको खोजीमा रहेका व्यक्तिले आफ्नो परिश्रमको मिठो फल चाख्न पाउनेछन् । सेवारत व्यक्तिले बढुवा वा थप जिम्मेबारी पाउन सक्छन् । छात्रछात्राले पनि सङ्घर्षका बीचमा सफलता पाउने समय हो, तर विद्यार्थी आफ्नो लक्ष्यबाट बाहिरिएर बरालिने स्थिति उत्पन्न हुनेछ । यद्यपि कला, सङ्गीत र खेलकुदको क्षेत्रमा सफलता पाउनेछन् । पारिवारिक जीवनमा प्रेमभाव रहनेछ । परिवारका सदस्यहरूबीच सद्भाव कायम रहनेछ र एकअर्काको सम्मान पनि हुनेछ । प्रेमजीवनमा रोमान्स बढ्नेछ । व्यापार/व्यवसायका दृष्टिले समय राम्रो छ र वैदेशिक धनार्जनको योग बनेको छ । स्वास्थ्य पनि राम्रो रहनेछ । गोप्य र आन्तरिक रोगबाट मुक्ति पाइनेछ ।
समग्रतामा कुम्भ राशिका व्यक्तिका लागि यो वर्षभरि आद्य र मध्य साढेसातीको प्रभाव रहनेछ । दिनचर्याका हरेक आयाममा सङ्घर्षको परिस्थिति देखिन्छ । कार्यक्षेत्रमा उतारचढावको सामना गर्नुपर्छ ।

स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नसक्छ । रक्तअल्पता, उच्च रक्तचाप वा कुनै रगतसित सम्बन्धित रोगव्याधि छ भने बढी सतर्कता अपनाउने समय हो, त्यस्तै घरिघरि निराशाबोध हुने भएकाले मानसिक व्याकुलता र अशान्तिले पनि पिरोल्न सक्छ । पारिवारिक र घरायसी समस्याहरूका बृद्धि हुनेछ, आर्थिक पक्षमा पनि लापरबाही नगरेको जाती हुन्छ, किनकि यो व्यवस्थित र सही लेखाजोखाका साथमा रकमको सदुपयोग गर्दा लाभ पाउने समय हो, नत्र ठूलो आर्थिक नोक्सानीको जोखिम बढ्नेछ । आजीविकाको क्षेत्र र बन्दव्यापारमा थप मिहिनेत गर्दा केही सुधार हुनेछ । स्थिर सम्पत्ति, घरघडेरी वा सेयर बजारमा पूँजी लगाउनु अघि जान्नेबुझ्ने र बुजुर्ग व्यक्तिको सहयोग लिएको ठीक हुन्छ । विद्यार्थीले जति धेरै मिहिनेत गर्यो, उति धेरै सफलता पाउन सक्नेछन् । चोटपटकको योग बनेको छ, त्यसैले बाटो काट्दा वा वाहनादिमा यात्रा गर्दा सावधान रहनुपर्छ । दिमागलाई गतिशील र शान्त राख्ने प्रयास गर्नुपर्दछ, यसका लागि योग, मेडिटेशन र ध्यानप्रति आकर्षित हुनु ठीक हुन्छ ।सामान्यतया श्रावण, मङसिर र चैत्र महिना कमजोर साबित हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

राशिस्वामी बृहस्पतिले बर्षभरि नै तपाईंको आफ्नै राशिमा परिभ्रमण गर्ने भएकाले नयाँ साल २०७९ अत्यन्त सुखद र परिणामदायी वर्षका रूपमा आउँदैछ।यो विद्यार्थीले राम्रो रिजल्ट निकाल्ने समय हो, युवायुवतीको विवाह सम्पन्न हुनेछ, जागिर र प्रतिष्ठाको खोजीमा रहेकाले चाहेको पद प्राप्त गर्नेछन्, गृहस्थीहरूको घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ, बृद्धबृद्धाले तीर्थयात्रा गर्ने वा विदेश यात्राको अवसर पाउनेछन् । नयाँ जोडीका लागि बेबीप्लान गर्न पनि उत्तम समय छ।व्यापारव्यवसायमा लाभ पाइनेछ।तर छात्रछात्रामा महत्त्वाकाङ्क्षा र हीनभावको विकास हुनसक्छ, सचेत भएर लक्ष्यप्रति उन्मुख हुनु आवश्यक छ । परिवारमा कलह र मनमुटावको वातावरण बन्नेछ, अझ विवाहित जोडीहरूमा कतिपय स्थितिमा विवाद र कलह चर्कने सम्भावनासमेत बनेको छ । माइती, मावली वा चेलीबेटीको घरमा रोग, शोक र भयको योग बनेको छ । आफ्नो मुख छुच्चो बन्ने भएकाले पारिवारिक भेटघाट वा मिलनको समयमा कम बोलेको जाती हुन्छ। यो आर्थिक उपलब्धीकै वर्ष हो, तर पैसालाई सञ्चित गर्न सकिंदैन ।बालबच्चाको चकचक र छुद्रतामा बृद्धि हुनेछ ।

समग्रतामा यो वर्ष अनुकूल र राम्रो समय रहनेछ।आफ्नो सर्कल र नातागोताभित्र सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ।बहुप्रतीक्षित उपलब्धीहरू प्राप्त हुनेछन्।सन्तानप्राप्तिको राम्रो योग बनेको छ, भएका सन्तानले पनि आआफ्नो कार्यक्षेत्रमा राम्रो गर्नसक्ने समय हो । घरमा कुनै धार्मिक कृत्यको आयोजना हुनसक्छ । मातापिताको स्वास्थ्यस्थितिमा राम्रो देखिन्छ, कुनै पुराना रोगव्याधि थिए भने पनि अब त्यसबाट छुटकारा पाउन सकिनेछ।विवाहयोग्य उमेरका व्यक्तिका लागि विवाहका लागि समुचित योग बनेको वर्ष हो । यात्रा, मनोरञ्जन र धार्मिक प्रयोजनका काममा अत्यधिक मात्रामा खर्च बढ्नेछ । बन्दव्यापार र कारोबारमा राम्रो आम्दानी हुने समय हो, व्यापारीको चेहरामा सन्तुष्टि र मुस्कान देखा पर्नेछ, तर नोकरीमा रहेकाहरूले खिन्नता प्रकट गर्नेछन् ।कामधन्धाबाहेक अन्य वैकल्पिक मार्गबाट पनि अतिरिक्त आम्दानी गर्न सकिनेछ । सामाजिक र राजनैतिक गतिविधिमा राम्रो छ, पदप्रतिष्ठाको योग बनेको छ ।पतिपत्नीका बीचमा तालमेल कायम हुनेछ।कोर्टकचहरी र मुद्दामामिलामा विजय प्राप्त हुनेछ । सामान्यतया यस वर्षको आषाढ, आश्विन, पौष र चैत्र महिना कमजोर रहनेछन्।स्रोत : नेपाली ज्योतीष भविश्यवाणी/हाम्रो पात्रो,पुर्व्यलीन्युज