आगामी २५ गते बाट ओखलढुंगामा मतदाता शिक्षा कार्यक्रम संचालन हुने

सिर्जना बर्देवा/
ओखलढुंगा, कार्तिक,२२-
ओखलढुंगामा आगामी २५ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम हुने भएको हो ।

२४ गते मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको र २५ गतेबाट जनताको घरदैलोमा शिक्षा दिन खटाइने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभएको छ ।

यसैबीच, मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा मतदाता अन्योलमा परेका छन् । मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाई हुँदा मतदाताहरुमा कसरी मतदान गर्ने भन्ने विषयमा अन्योलमा परेका हुन् ।

निर्वाचनको मिति संघारैमा आइपुग्दा समेत मतदान शिक्षा कार्यक्रम लागु हुन नसक्दा अधिकांश मतदाता अन्योलमा परेका हुन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरकफरक व्यवस्था गरेृको र समानुपातिक तर्फ भने एउटै मात्र मतपत्र बनाएका कारण मतदाता झुक्किने सम्भावना रहेको सरोकारवालाले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा ओखलढुंगाबाट १ लाख २ हजार २ सय ६३ जना मतदाता सहभागी हुँदैछन् ।