एमाले र राप्रपा बिच चुनावी तालमेलका लागी पाँच बुँदे सहमति

काठमाडौं,चैत्र,३०-राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल र नेकपा (एमाले)बीच स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जानेबारे पाँचबुँदे सहमति भएको छ ।

बुधबार एमालेको तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेर पाँचबुँदे सहमति गरेका हुन् ।

सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएका स्थानमा दुवै दलले एकअर्कालाई सहयोग गर्ने, राप्रपा नेपालले सूर्य चिन्हबाटै चुनाव लड्ने भएको छ ।

त्यसैगरी एमाले र राप्रपा नेपालको जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यका लागि प्रस्ताव तयार गर्ने र केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने भएका छन् ।

दुई दलबीच स्थानीय निर्वाचनमा मिलेर जानका लागि केही दिनदेखि छलफलमा थिए ।