नेपाली बजारमा सुनको आयात शून्य,आज सुनचाँदीको मूल्यमा बृद्धि

काठमाडौं,चैत्र,२९-नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ ।

नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो ।

बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर ) को संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो ।

राष्ट्र बैंकले यसअघि पनि समय समयमा राष्ट्रको ढुकुटीमा डलरको संचिति कम भएको भन्दै सुन आयातमा कमी गर्ने गरेको थियो ।

सुन आयात रोकिंदा बजारमा हाहाकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुभयो ।

यसैबिच : साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।