संशोधन विधेयकमा कांग्रेस र राप्रपाले परिमार्जन नहाल्ने

काठमाडौं, फागुन १५-संसदले दिएको संविधानको दोस्रो संशोधन विधेयकमाथि परिमार्जन पेश गर्ने समय आइतबार साँझ ६ बजे सकिदै छ। यसैका लागि बसेको नेपाली कांग्रेस र राप्रपा संसदीय दलको बैठकले भने परिमार्जन पेश नगर्ने निर्णय गरेको छ।
पार्टीका प्रदेश नम्बर दुईका सांसदहरुसँगको छलफलपछि कांग्रेसले परिमार्जन पेश गर्ने काम सरकारको भएकाले कुनै परिमार्जन पेश नगर्ने निर्णय नगरेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए। उनका अनुसार पार्टी सरकारमा रहकाले पार्टीगत रुपमा परिमार्जन पेश नगर्ने निर्णय गरेको हो। तर, परिमार्जनसहित विधेयक पारित गर्न भने विशेष पहल गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।

बैठकपछि विधेयक पारित गराउन एमालेसँग छलफल भइरहेको सभापति शेरबहादुर देउवाले बताए। उनले यो विधेयक परिमार्जनसहित पारित हुने बताए।

राप्रपा संसदीय दलको बैठकले समेत परिमार्जन पेश नगर्ने निर्णय गरेको छ। प्रमुख सचेतक दिलनाथ गिरीका अनुसार संशोधन विधेयक यथास्थितिमै राखेर जानुपर्ने राप्रपाले निर्णय लिएको छ। विधेयकले कुनै दललाई असन्तुष्ट बनाउन नसकेकाले नयाँ सहमति कायम हुनुपर्ने निर्णय गरेको छ।

अहिलेको विधेयक पारित हुन नसक्ने भएकाले अघि बढाइए परिणाम प्रत्युत्पादक हुने निष्कर्ष राप्रपाले निकालेको छ। मधेशी मोर्चालाई चुनावमा जाने बातावरण बनाउनुपर्ने भएकाले विधेयकलाई यथास्थितिमा राख्नु उपयुक्त हुने राप्रपाले जनाएको छ।

मोर्चाले भने विधेयक परिमार्जन पेश गर्ने तयारीमा जुटेको जनाएको छ। परिमार्जनसहित संशोधन विधेयक पारित नभए स्थानीय चुनावमा भाग नलिने मोर्चाले जनाउँदै आएको छ।

आगामी ३१ वैशाखमा स्थानीय तहको चुनाव घोषणा गरेको सरकार पनि मोर्चाको माग सम्बोधन हुनेगरी परिमार्जन पेश गर्ने तयारीमा जुटेको छ। १९ फागुनसम्म संसद बैठक स्थगित भएपनि विधेयकमाथि परिमार्जनको समय भने आजसम्म मात्रै दिइएको छ। साभार नेपालखबरबाट