संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता

दुई दल मिलेर बनेको पार्टीको नाम समाजवादी पार्टी नेपाल

काठमाडौं,बैशाख,२३-

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले एकताको घोषणा गरेका छन् । उनीहरुले नयाँ दलको नाम समाजवादी पार्टी नेपाल घोषणा गरेका छन् ।

काठमाडौंमा भएको एकता घोषणा सभामा नेताहरुले एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी पनि गरेका छन् ।कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर पनि गरेका छन् ।

एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको भन्दै उनीहरुले संघीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुवीकरणको आवश्यकता पनि औल्याएका छन् ।

सोमबार आयोजित एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो । पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

यस्तै उपाध्यक्षहरू  नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् ।कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।