सल्यानमा कृषकलाई अदुवा खन्न र बिक्रि गर्न भ्याई नभ्याई

बर्षेनी करोडौँको अदुवा उत्पादन

सल्यान,पुस,३-

सल्यान रेसा विहीन अदुवा उत्पादनमा प्रख्यात मानिन्छ । शारदा नगरपालिका वडा नम्वर १४ माल्नेटा ढारखानीमा रेसा नभएको बोसे जातको अदुवा बढि उत्पादन हुने भएकाले यहाँ बाट बर्षेनी करोडौँको अदुवा जिल्ला बाहिर जाने गरेको छ ।

यहाँका किसानले अन्य बाली लगाउन छोडेर अदुवा उत्पादन गर्दै आइरहेका छन् । शारदा नगरपालिकाका वडा नम्बर १४ ढारखानीका कृषकलाई अहिले अदुवा खन्न र विक्रि गर्न भ्याई नभ्याई छ । कृषक तेज बहादुर कवरले अदुवा खेती गर्न थालेको २५ बर्ष भयो । यस बर्ष उहाँले ५ रोपनी जग्गामा अदुवा खेतीगर्नु भएको छ । उहाँ जस्तै यहाँका प्रत्येक किसानले आ–आफ्ना बारीमा अदुवा खेती गर्दै आएका छन् । शिक्षण पेशा संगै अदुवा खेती गर्दे आउनु भएका तेज बहादुर कवरले अदुवा बिक्रि गरेर वर्षेनी २ लाख वढि कमाई गर्दे आएको बताउनुभयो ।

ज्ञानबहादुर पुनले पनि ५ रोपनी जग्गामा अदुवा खेतीगर्नु भएको छ । उहाँले पनि अदुवा बिक्रि गरेरै घर खर्च चलाउने गर्नु भएको छ । उहाँले भन्नुभयो– घर खर्च चलाउने माध्यम नै अदुवा खेती हो ।

यहाँका माल्नेटा ढारखानीका गाउँकाका २ सय ५० घरपरिवारले अदुवा खेतीगर्ने गरेका छन् । यहाँका किसानहरुको मुख्य पेसा भनेकै अदुवा खेती हो । यहाँका किसानहरुले बार्षिक १ हजार ४ सय क्वीन्टल अदुवा बिक्रिका लागि तयार गर्छन् भने करिव ५ सय क्वीन्टल विउको रुपमा उत्पादन गर्ने गरेको १४ नम्वर वडाका वडा अध्यक्ष कृष्णबहादुर गिरीले वताउनुभयो । उहाका अनुसार अदुवा किनेर लैजान ब्यापारीहरु गाउँमै पुग्ने गर्दछन् । अदुवा बिक्रि गरेरै कृषकहरुले वार्षिक एक करोड बढि रकम आम्दानी गर्ने गरेका छन् ।

शारदा नगरपालिका १४ माल्नेटामा उत्पादन हुने अदुवा रेसाविहन (वोसे) अदुवा हो । यो पिस्दा रेसा नभएर धुलो मात्र हुने भएकाले पनि अदुवाको माग धेरै हुने गरेको स्थानीय ब्यापारी ज्ञानदेव घर्तिले बताउनुभयो । उहाँका अनुसार अहिले काँचो अदुवा धेरै माग भएको छ । पछि विउको रुपमा पनि यहाँका अदुवा देशका विभिन्न जिल्लाबाट माग हुने गरेको छ ।

अल्निो वर्ष प्रतिकिलो २० रुपैयामा अदुवा बिक्रि गरेका कृषकले यो वर्ष भने ४२ रुपैया प्रतिकिलो अदुवा विक्रि गरिरहेका छन् । विउको रुपमा अदुवा १ सय ६० रुपैयाँ प्रतिकिलो किसानले बिक्रि गर्ने गर्छन् ।सल्यान जिल्लामा २ हजार ९० हेक्टर क्षेफलमा अदुवा खेती गरिन्छ । यहाँ २८ हजार ३ सय ९२ मेटिक्टन अदुवा उत्पादन हुने गरेको कृषी विकास कार्यलय सल्यानको तथ्याङ्क छ ।साभार गोर्खा पत्रबाट