जापानमा १४ राष्ट्रका नागरिकलाई प्रतीबन्ध गरिने

जापान,बैशाख,१६-जापान सरकारले १४ राष्ट्रका नागरिकलाई देशभित्र प्रवेशमा कडाई गर्ने भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया सहितका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नुभएको थियो ।

ती मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनु भएको थियो ।जापानले यसअघि ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाएको थियो। प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही साताको बुधबारदेखि लागू हुने बताउनुभयो ।

जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदै थियो तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइएको छ।मे ६ सम्मका लागि जापानमा आपतकालीन स्थितिको घोषणा गरिएको छ।

सरकारी अधिकारीहरु र विज्ञहरुले कोरोना संक्रमण रोकथामका लागि हाल अपनाइएका उपायहरु सफल रहे वा नरहेको बारेमा सूक्ष्म विश्लेषण गरिरहेका छन्।जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा हालसम्म १४ हजार ३ सय ९ जना संक्रमित भएका छन् भने ४०६ जनाको मृत्यु भईसकेको छ ।