जापानको टोकियोमा किन अहिलेसम्मकै महँगो भयो अपार्टमेन्ट ?

Image Not Foundजापान,वैशाख,६-जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा गत आर्थिक वर्षमा नयाँ कोन्डोमिनयम (अपार्टमेन्ट) को भाउ अहिलेसम्मकै कीर्तिमानी उचाईमा उक्लिएको छ ।

जग्गाको भाउमा भइरहेको वृद्धि र श्रम लागतका कारण पछिल्लो समय जापानमा अपार्टमेन्टको भाउ बढिरहेको छ । आर्थिक वर्ष २०२१ मा औसतमा अपार्टमेन्टको भाउ ६ करोड ३६ लाख येन (५ लाख ३ हजार डलर) मा पुगेको अनुसन्धाता संस्था रियल इस्टेट इकोनोमिक इन्ष्टिच्यूटले बताएको छ । यो तीन दशकअघि जापानमा बबल इकोनोमी उत्कर्षमा भएको बेलाको भन्दा पनि महँगो हो । 

अहिले टोकियो र आसपासका तीन ओटा प्रिफेक्चर चिबा, खानागावा र साइतामामा अपार्टमेन्टको औसत मूल्य आर्थिक वर्ष १९९० मा कायम भएको यस अघिको कीर्तिमानभन्दा पनि माथि उक्लिएको छ । त्यति बेला यहाँ अपार्टमेन्टको औसत मूल्य ६ करोड २१ लाख ४० हजार येन थियो । अघिल्लो आवको तुलनामा गत आवमा साइतामामा मूल्य ६ दशमलव १ प्रतिशतले बढेको छ ।

टोकियोका २३ वडामा भाउ ११ दशमलव ७ प्रतिशतले बढेर ८ करोड ४४ लाख ९० हजार येनमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । अपार्टमेन्टको भाउ यहाँ ८ करोड नाघेको यो सन् १९९१ यता पहिलो पटक हो । 

मध्य टोकियोका गगनचुम्बी अपार्टमेन्ट भवनमा सुविधा सम्पन्न विलासी अपार्टमेन्टको सुदृढ मागका कारण बजार बुलिश रहेको छ । श्रम लागत र निर्माण सामाग्रीको भाउमा भइरहेको वृद्धिका कारण पनि अपार्टमेन्टको भाउ बढेको हो ।

अमेरिकी डलरको तुलनामा जापानी येन कमजोर बनेकोले जापानमा आयातित निर्माण सामाग्री महँगो हुने र घर तथा अपार्टमेन्टको भाउ बढ्ने क्रम केही समय जारी रहने अपेक्षा गरिएको छ ।

निर्माण क्षेत्रमा कामदारको अभावले पनि श्रम लागत बढ्दा मूल्य प्रभावित हुने देखिएको छ । पछिले समय अपार्टमेन्टको भाउ आफूहरुले यससम्बन्धी डेटा संकलन गर्न थालेयताकै उच्च स्तरमा उक्लिएको रियल इस्टेट इकोनोमिक इन्ष्टिच्यूटका तादाशी माचुदाले बताएका छन् ।

पछिल्लो समय मोलमोलाई गरेर अपार्टमेन्ट किन्नेहरुमाझ राजधानी क्षेत्र बाहिर आकर्षण बढेको छ । मध्य टोकियोबाट केही टाढा रहेका क्षेत्रमा समेत नयाँ अपार्टमेन्टको माग सुदृढ पाइएको छ । माग पूरा गर्न निर्माताहरुले साना खालको अपार्टमेन्ट बनाउन थालेका छन् । तर जग्गा र निर्माण लागत बढिरहेकोले तत्कालै भाउ घट्ने कुनै संकेत भने छैन । एजेन्सी