नवनियुक्त प्रधानमन्त्री देउवाले आज शपथ लिने

को को बन्दै छन् मन्त्रि

काठमाडौ,जेठ,२४-

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । देउवाले राष्ट्रपति भवन शीतल निवासमा दिउँसो पौने २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुने भएको हो । कंग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा हिजो निर्वा्चित हुनु भएको थियो ।

शपथ ग्रहणलगत्तै देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम तय भएको उहाँका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गर्ने तयारी समेत थाल्नु भएको छ ।

उहाँले कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरूलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य थाल्नु भएको हो ।कांग्रेस र माओवादी केन्द्रबाट ३–३ जना र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छादारले आजै शपथ लिनुहेनेछ ।

नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणको मन्त्रिमण्डलमा समावेश हुने सम्भावना छ ।यस्तै माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र जनार्दन शर्मा जाने स्रोत बताएको छ । माओवादीबाट महराले उपप्रधानसहित परराष्ट्र मन्त्रालय र शर्माले गृह मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको बताइएको छ ।

यद्यपि माओवादी केन्द्रले औपचारिक रूपमा टुंगो लगाएको छैन । माओवादी प्रवक्ता पम्फा भुसालले अहिलेकेहीबेरमा पार्टी केन्द्रीय कार्यालयको बैठक बस्ने र त्यसले सरकारमा जाने मन्त्रीहरूको विषयमा निर्णय लिने बताउनुभयो ।