६ राष्ट्रले तोडे कतारसँग सम्बन्ध

काठमाडौ,जेठ, २३-

मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।

उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् ।साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार साउदीले कतारसँग आफ्ना सबै सीमा र सामुद्रिक तथा हवाई सम्पर्कसमेत बिच्छेद गरेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्सले कतारका कूटनीतिक प्रतिनिधिलाई ४८ घन्टाभित्र देश छाड्‍न आदेश दिएको छ । उसले कतार जाने आफ्नै सबै विमानसेवा स्थगन गरेको छ ।साउदी अरेबियाले एउटा गोप्‍य मुद्दामा कतारले सम्प्रभुतामाथि नै खलल पु‍र्‍याएको गम्‍भीर आरोप लगाएको छ भने इजिप्टको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको बताइएको छ ।

इजिप्टसहित अरब राष्ट्रका विभिन्न ६ मुलुकले आफ्ना यातायात सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या पर्ने देखिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ । नेपालवाणीवाट