बहुदल आगमनपछि सुरुवातमा ताप्लेजुङ, झापा, भोजपुर लगायतका पूर्वी पहाडी जिल्ला एमालेको किल्लाको रुपमा चिनिन्थे। पूर्वका मोरङ, सोलु, पश्चिमका लमजुङ, तनहुँ, डोटी, डडेलधुरा लगायतका जिल्लालाई कांग्रेसको किल्लाका रुपमा लिइन्थ्यो। अनि, रोल्पा–रुकुम–गोरखा लगायतका जिल्लाचाहिँ तत्कालिन संयुक्त जनमोर्चाको गढका रुपमा चिनिएका जिल्ला थिए।
२०४८ को निर्वाचनमा दुबै सिट जितेर माओवादीले रोल्पालाई आफ्नो किल्ला प्रमाणित गर्यो। तर तीन सिट रहेको गोरखामा एउटा सिट पनि जोगाउन सकेन, तीनै सिटमा नेपाली कांग्रेस विजयी भयो। रुकुमका दुई मध्ये एउटा सिट कांग्रेसले जित्यो। अहिलेका माओवादीका चर्चित नेता जनार्दन शर्मा नै उतिबेला रुकुमबाट पराजित भए। रुकुमको अर्काे सिटमा चाहिँ जनमोर्चा विजयी भएको थियो।
एमालेले भने झापा, ताप्लेजुङ, भोजपुर, संखुवासभा, तेर्हथुम जस्ता पूर्वी पहाडी जिल्लामा जित हासिल गरेर ती जिल्ला आफ्ना किल्ला हुन् भन्ने प्रमाणित गर्यो। कांग्रेसले पनि आफ्ना किल्ला भनिएका जिल्लाहरु जोगायो। लमजुङ, गोरखा, डोटी जस्ता जिल्लाहरु त लोकतन्त्र पुनस्र्थापना हुनुअघिसम्म कांग्रेसका किल्लाका रुपमा रहिरहे। ती जिल्लामा २०५६ सम्म न एमालेले चियाउन सक्यो, न त राप्रपाले नै।
तर, २०७६ को चुनावसम्म आउँदा कुनै पनि जिल्ला कसैको किल्ला रहेनन्। एमालेको किल्लाका रुपमा रहेको झापा, ताप्लेजुङ, भोजपुर, संखुवासभा लगायतका जिल्लाका संसदीय निर्वाचनमा कांग्रेस र माओवादीले पनि आफ्नो झण्डा फहराएका छन्। माओवादीको किल्ला रोल्पामा २०५१ र २०५६ मा कांग्रेसले जितेकै हो। कांग्रेसका किल्ला मानिने लमजुङ, मोरङ, डोटी लगायतका जिल्लामा पनि एमाले–माओवादी केन्द्रले जितिसकेका छन्।
संविधान सभा होस् वा प्रतिनिधि सभा निर्वाचन परिणाम– त्यसले देखाएकै छ, कुनै जिल्ला कसैको स्थायी किल्ला हुन सक्दा रहेनछन्। कांग्रेसका भनिएका किल्लामा एमाले–माओवादीले जित्न सक्दा रहेछन्, माओवादीको भनिएको किल्लामा कांग्रेस–एमाले पनि सफल हुँदा रहेछन्। अनि, एमालेको भनिएको किल्लामा कांग्रेस–माओवादीलेपनि आफ्नो झण्डा गाड्न सक्दा रहेछन्।
तर फरक डडेलधुरा
तर, प्रतिनिधि सभा र संविधान सभा निर्वाचनमा भने लगातार एउटा जिल्लाले लगातार एउटै पार्टी र उम्मेदवारलाई जिताइरहेको छ। त्यो हो, डडेलधुरा– जहाँबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको तर्फबाट निरन्तर संसदमा चुनिएर आइरहेका छन्।
‘डबल ह्याट्रिक’ नै हुनेगरी कांग्रेसको यो किल्ला तोड्न एमालेसहितका दलहरुले पटक पटक प्रयास नगरेका होइनन्। ६ वटा चुनावमध्ये २ वटा चुनावमा वामपन्थीहरु मिलेर यो किल्ला तोड्ने प्रयास गरे। यसपटक त एमाले अध्यक्ष केपी शर्मा ओली नै डडेलधुरा पुगेर देउवाको किल्ला तोड्नका लागि उत्साह भरेर पनि आए। तर एमाले–माओवादी केन्द्रबीचको गठबन्धनले समेत देउवाको किल्ला तोड्न सकेन।
२०४८ को चुनाव परिणामले नै डडेलधुरालाई कांग्रेसको जबर्जस्त किल्ला हो भन्ने प्रमाणित गरिदिएको थियो। त्यो निर्वाचनमा देउवा २७ हजार ४४ अर्थात् चार दोब्बर मका साथ विजयी भएका थिए। देउवाका निकटतम प्रतिद्वन्द्वी थिए, एमालेका गोबिन्दप्रसाद कलौनी। एमालेका कलौनीले जम्मा ६ हजार ६ सय २८ मात्र बटुल्न सके। कांग्रेसका देउवा र एमालेका कलौनीबीचको मतान्तर झण्डै २१ हजार रह्यो।
यो किल्ला तोड्न त्यसपछि एमालेले फरक ‘स्ट्राटेजी’ अपनायो। आफ्नो शक्तिमात्रै देउवाको किल्ला तोड्न सफल छैन भन्ने लागेपछि एमालेले २०५१ को मध्यावधि निर्वाचनमा खेमराज भट्ट ‘मायालु’ लाई अघि सार्यो। गृहजिल्ला डडेलधुरा नै भएका, गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेपाल जनवादी मोर्चाको बरिष्ठ उपाध्यक्ष रहेका मायालु, देउवा सभापति हुँदा नेवि संघको कार्यसमितिमा थिए। सिंहले गणतन्त्रका लागि सशस्त्र संघर्ष सुरु गरेपछि सिंहलाई साथ दिन पुगेका थिए। त्यसैले मायालुलाई समर्थन दिएर एमालेले डडेलधुरा पठाएको थियो।
२०५१ ताका मायालु राजनीतिक रुपमा ‘हिरो’ नै थिए। २०४२ को वम विस्फोटनका कारण आजिवन कारावासको सजायँ पाएका उनको मुद्दा भर्खरमात्र फिर्ता भएको थियो। कांग्रेसी पृष्ठभूमिकै भएकाले जिल्लामा उनको पकडपनि राम्रो थियो। तर, एमालेको ‘मायालु अस्त्र’ पनि फेल खायो। ९ हजार ९ सय ६६ मतका साथ मायालु देउवाका निकटतम प्रतिद्वन्द्वीमात्र बन्न सके। २० हजार ७ सय १ मतले विजयी देउवाले कांग्रेसको किल्ला जोगाए।
‘मायालु अस्त्र’ पनि काम नलागेपछि एमालेले २०५६ को निर्वाचनमा फेरि अलिकति फरक पृष्ठभूमिका पात्रलाई यो किल्ला तोड्न पठायो। उनी थिए, बागेश्वरीदत्त चटौत। सुदुर पश्चिम क्षेत्रका कांग्रेसका प्रभावशाली नेता आरडी प्रभाव चटौत परिवारबाटै उम्मेदवारी दिँदा चुनावमा देउवालाई पराजित गर्न सक्ने ठानेर एमालेले नेपाल सरकारको सहसचिवबाट अवकास पाएका यी पूर्व प्रशासकलाई देउवासँग प्रतिस्पर्धाका लागि पठाएको थियो।
तर, चटौत अस्त्र पनि काम लागेन। देउवाले यस पटकपनि ठूलो मतान्तरका साथ चटौतलाई पराजित गरे। चटौत चटौत ७ हजार ४ सय ८० मतमा सीमित भए। देउवा भने २८ हजार ६ सय ५१ मतका साथ विजयीमात्र भएनन्, पहिलो ह्याट्रिक समेत पुरा गरे। यसरी बहुदलकालभरि डडेलधुरा कांग्रेसको किल्ला रहिरह्यो, एमालेका कुनै अस्त्र यहाँ काम लागेनन्, देउवाले त्यहाँबाट चुनाव जितिरहे।
लोकतन्त्र/गणतन्त्र पुनस्र्थापनापछि चाहिँ यो किल्ला जोगिएका कि नजोगिएला भन्नेमा देउवा आफै विश्वस्त थिएनन्। त्यसैले, उनले दुबै चुनावमा बिकल्पका रुपमा फरक क्षेत्रहरु पनि खोजे। २०६४ को संविधान सभा चुनावमा डडेलधुराको अलावा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ रोज्नुको कारण यही थिय, त्यहाँ पार्टीको उम्मेदवार नभएर होइन। डडेधलधुराबाट जित्न सकिएकाल कि नसकिएला भन्ने धरमरका कारण देउवाले यी गैर–गृहजिल्ला रोजेका थिए। तरपनि उनी दुबै निर्वाचनमा गृहजिल्लाबाट समेत विजयी भए।
२०६४ मा देउवालाई माओवादीका खगराज भट्टले दर्हो चुनौति दिएकै हुन्। जनयुद्धमा दाजु गुमाएका, आफैपनि जनयुद्धमा लागेर जिल्लाको नेतृत्व गरेका मिजासिला खगराज जिल्लाका असाध्यै लोकप्रिय नेता हुन्। खासमा दुबै निर्वाचनमा माओवादीले खगराजलाई उतारेपछि देउवा डडेलधुराको अलावा कञ्चनपुर र कैलालीको विकल्पपनि खोज्न पुगेका थिए। पहिलो संविधान सभा निर्वाचनमा भट्टले पाएको मत हेर्दापनि यो कुरा प्रष्ट हुन्छ।
जस्तोः पहिलो संविधान सभा निर्वाचनमा भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए। देउवा चाहिँ २० हजार ५ सय २९ मतका साथ विजयी भए। यो नै देउवाले सबैभन्दा कम मतान्तरले जितेको चुनाव हो। पहिलो संविधान सभा निर्वाचनमा जितेको कञ्चनपुर–४ उपनिर्वाचनमा माओवादीले जितेको थियो। त्यसैले, देउवा दोस्रो संविधान सभा निर्वाचनमा कैलाली–६ झरे।
तर, दोस्रो संविधान सभामा पनि उनी डडेलधुरामा २३ हजार ९ सय २० मतका फेरि विजयी भए, भट्ट १२ हजार ४ सय ९३ मतका साथ निकटतम प्रतिद्वन्द्वीमात्र बने। मत परिणाम र देउवा–भट्टले प्राप्त गरेको स्थान हेर्दा के देखिन्छ भने, डडेलधुरेली जनताले भट्टलाई स्नेह दिँदा रहेछन्। तर भोट चाहिँ देउवालाई दिँदा रहेछन्।
डडेलधुराले वामपन्थीहरुलाई नै नेतृत्व नदिएको भने होइन। जस्तोः यसपटक प्रदेश सभाकै निर्वाचन हेरौंः दुई प्रदेश सभामध्ये एउटामा एमाले उम्मेदवार पठानसिंह बोहोरा डडेलधुरा ‘क’ बाट विजयी भएका छन्। बोहोराले १२ हजार ६ सय ६३ मत पाएर विजयी हुँदा कांग्रेसका रघुबीर भट्टले ११ हजार ३ सय ९४ मतमात्र पाए। प्रदेश ‘ख’ मा भने कांग्रेसका कर्णबहादुर मल्लले एमालेका तारा जोशीलाई पराजित गरे।
यसबाहेक २०५४ को स्थानीय तह निर्वाचनमा पनि एमालेले जीत हासिल गरेको थियो। त्यो निर्वाचनमा एमालेले त्यहाँको जिल्ला विकास समितिको नेतृत्वपनि हात पार्यो। एमालेका गजेन्द्रबहादुर शाही जिल्ला विकास समितिको सभापति बने। उपसभापति चाहिँ राप्रपाले पायो। तर, ०५४ को स्थानीय तहमा पाएको जीतलाई २०५६ को निर्वाचनमा एमालेले कायम राख्न सकेन।
तीन कारण
कुनैपनि जिल्ला कसैको पनि स्थायी किल्ला नरहेको स्थितिमा देउवाले आफ्नो किल्लालाई चाहिँ सधैं सुरक्षित राख्न सक्नुका तीन कारण छन्।
१. फरक मनोविज्ञान
जसरी नेपालको पहाडी क्षेत्र र मधेश क्षेत्रका बासिन्दाबीच अलग मनोविज्ञान छ, त्यस्तै मनोविज्ञान सुदुर पश्चिमका बासिन्दामा पनि छ। नेपालका मधेशी समुदाय झैं, सुदुर पश्चिमका बासिन्दाहरु पनि राजधानीबाट टाढा रहेकाले आफूहरु राज्यबाट हेपिएको, ठगिएको ठान्छन्। त्यसैले, उनीहरु सँधै यस्तो नेताको खोजीमा रहन्छन्, जसले केन्द्रीय सत्तामा हस्तक्षेप गर्ने हैसियत राखोस्। त्यस्तो नेताको रुपमा देउवालाई पाएका छन् उनीहरुले। देउवाले निरन्तर विजय हासिल गरिहनुको एउटा कारण यो हो।
यही मनोविज्ञानका कारण राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले पनि पञ्चायतकालमामात्र होइन, बहुदलकालमा २०५१ को निर्वाचनमा विजय हासिल गरेका थिए। तर प्रधानमन्त्रीका रुपमा उदयसँगै डडेलधुरासँग सीमा जोडिएको बैतडीमा विजय हासिल गर्न चन्दलाई कठिन भइरहेको छ। पछिल्लो समय त चन्दले प्रतिस्पर्धाको राजनीति नै त्यागिदिएका छन्, जबकि बुढ्यौली जीवन सुरुभइसकेपनि राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले भने निरन्तर सिन्धुपाल्चोकबाट प्रतिस्पर्धा गरिरहेका छन्।
२. सुदुर पश्चिमका अग्ला नेता
२०४८ मा डडेलधुराबाट विजय हासिल गर्दा देउवा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमात्रै थिए। तर, जब पहिलो आम निर्वाचनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देउवालाई गृहमन्त्री बनाए, त्यसपछि देउवाको व्यक्तित्व अग्लियो। सरकारमा प्रधानमन्त्री पछिका शक्तिशाली नेताको रुपमा उनको हैसियत बढ्यो। त्यसैले, २०५२ प्रधानमन्त्री बनेपछि उनलाई डडेलधुराबाट चुनाव जित्न झन् सहज हुने गरेको छ।
प्रधानमन्त्रीको व्यक्तित्व चुनाव जित्न कति बलियो अस्त्र बनेको रहेछ भन्ने कुरा यस पटकको चुनाव अभियानका क्रममा देउवाले दिएका अभिव्यक्तिले पनि देखाउँछन्। ‘ज्योतिषीले आफूलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन्’ भन्ने दावीका साथ चुनावी मैदानमा उत्रिए। डडेलधुराका चुनावी सभामा त अझ उनले ‘अर्कोले जिते सांसदमात्र, मैले जिते प्रधानमन्त्री’ भन्ने नारा नै लगाए। चुनाव जित्न उनलाई यही अस्त्रले निरन्तर काम गरिरहेको छ।
३. विकास निर्माण
सुदुर पश्चिमको अलग मनोविज्ञान र ‘फेरि मलाई जिताए प्रधानमन्त्री हुन्छु’ भनेकै आधारमा मात्र देउवाले निरन्तर चुनाव जितेर डडेलधुरालाई कांग्रेसको किल्ला बनाएका होइनन्। जब पहिलो पटक २०५३ मा देउवा प्रधानमन्त्री बने, त्यसपछि उनले त्यस क्षेत्रको विकास निर्माणका लागि जे जति काम गरे, माओवादी वा वामगठबन्धनको उभारका बीचपनि देउवाले निरन्तर चुनाव जितिरहनुको मुख्य कारण त्यही काम हो।
२०५३ मा पहिलो पटक प्रधानमन्त्री बनेपछि देउवाले पूर्व–पश्चिम राजमार्गलाई पूर्णता दिन कर्णाली–चिसापानीदेखि गड्डाचौकी (कञ्चनपुर) सम्मको २२ वटा पुलको शिलान्यास गरे। २०४२ मा चीन सरकारले ठेक्का पाएपछि भारत सशंकित बन्दा ती पुल बन्न सकेका थिएनन्। पुल र सडकको अभावमा सुदुर पश्चिमको विकासले गति पाएको थिएन। तर देउवाकै अग्रसरतामा भारत सरकारको सहयोगमा ती पुल बने, सुदुर पश्चिमको विकासले रफ्तार पायो। यही कारण डडेलधुराले चाहिँ सधैं उनलाई जिताएर पठाउने गरेको छ।
नेपाल एकिकरणकालका एकयोद्धा अमरसिंह थापाले महाकाली पारि विजय अभियान सुरु गर्नुअघि डडेलधुरामा एउटा बलियो किल्ला बनाएका थिए, अहिलेपनि जिल्ला सदरमुकामको शिरमा रहेको त्यो किल्ला अमरगढी किल्लाको रुपमा चिनिन्छ। नेपाल एकिकरणकालका थोरै किल्लामध्ये एउटा सुरक्षित किल्ला हो त्यो।
जसरी अमरगढी किल्ला अहिलेपनि सुरक्षित छ, त्यो किल्ला रहेको डडेलधुरालाई देउवाले पनि आफ्नो अभेद्य किल्लाका रुपमा सुरक्षित राखेका छन्। साभार : नेपालखबरमा सीताराम बरालले लेखेका छन् ।