दाङमा स्थानीयवासीद्धारा रकम सङ्कलन गरेर बाटो निर्माण

दाङ ,पुस ११-  दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्थानीयवासीले रकम सङ्कलन गरेर स्तरोन्नति गरेका छन् । स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । १० घर परिवारबाट प्रतिघर परिवार रु २४ हजारका दरले रकम सङ्कलन गरी दुई किलोमिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले जानकारी दिनुभयो ।मूल सडकदेखि केही टाढा रहेको बसेनी गाउँका स्थानीयले गाविस, सङ्घसंस्था तथा विभिन्न राजनीतिक दलसँग पटकपटक हारगुहार गर्दै आएको भए पनि कसैले नसुनेपछि स्थानीयले प्रतिघरधुरी रकम सङ्कलन गरेर उक्त सडकखण्डको स्तरोन्नति गरेका हुन ।

उक्त सडकखण्ड आसपासको क्षेत्रमा टिमुर, अदुवा, कागती, आलु र बेमौसमी तरकारी राम्रो उत्पादन हुँदै आएको भए पनि त्यसले बजार पाउन नसकेको स्थानीय उदीराम बलीले जानकारी दिनुभयो । सडकको स्तरोन्नतिसँगै बाघमारे गाविसको बसेनी, गजुरे, गहुँखोरे तथा छिमेकी गाविस शान्तिनगरका तोरीखुती, एकराते, वैजारखुटीलगायतका गाउँ यो सडकबाट लाभान्वित हुने छन् ।

यहाँ एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने बाटो नहुँदा सुत्केरी व्यथा लाग्दा र स्थानीय बिरामी पर्दा डोकोमा बोकेर घन्टौँ हिँडेर बजार पु¥याउनुपर्ने असहज परिस्थिति थियो, तर बाटो बनेपछि त्यो दुःख समाप्त हुने अपेक्षा गरिएको छ । सडकको स्तरोन्नतिसँगै स्थानीय उत्पादन बजार पु¥याउन सहज हुने छ ।