सिद्धिचरण नगरपालिका नगरबासीलाई कर तिर्न अभिप्रेरित गर्दै

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२७-
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सबै वडामा कार्य संचालन तथा अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

सेवा प्रवाह र तिर्नु पर्ने राजश्वका बारेमा जानकारी नहुँदा गुनासा आएपछि सरोकारवाला निकाय, जनप्रतिनिधी र वडा कार्यालयका कर्मचारीहरुलाई सचेतिकरण गर्न कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ ।

वडा कार्यालयबाट नियमित सेवा प्रवाह, वडामा राजश्व संकलन बृद्धि गर्ने र सरोकारवालाहरुलाई कर तिर्न र सेवा प्रवाहको प्रकृयाका बारेमा सचेतिकरण गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

वडा कार्यालयहरुबाट राजश्व संकलन अति न्यून भएको, धेरै गुनासा आएका, सेवाग्राही समेत नगरपालिककामै धाउने गरेकाले वडा कार्यालयबाट प्रवाह हुन सेवा, स्थानीय शासन संचालन ऐनबारे जानकारी गराइएको छ ।

स्थानीय शासन, वडा कार्यालयको कार्य क्षेत्रबारे जानकारी र नगरपालिकाका नागरिकलाई कर तिर्न अभिप्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण संचालन गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।

जिल्लाको एकमात्र नगरपालिकामा साविकका ११ गाविस मिलाएर १२ वडा रहेका छन् । नगरका अधिकांश वडाहरुमा यस अघि कर लिएको अभिलेख नपाएपछि नगरपालिकाले अभिलेखलाई अध्यावधिक गर्ने मुख्य लक्ष्य राखेको छ ।