प्रदेश नं: २ मा मतदान जारी ,मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता

राजविराजमा १ सय ३ वर्षीया बृद्धाद्वारा लाइनमै बसेर मतदान

काठमाडौं,असोज,२-

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ का ८ जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । सप्तरीको राजविराजमा १ सय ३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।वडा नम्वर ७ बस्ने १ सय ३ वर्षीय समानदेवी जोशीले मतदान गरेकी हुन् ।

राजविराजका १ सय ३ वर्षीया बृद्धा समानदेवी जोशी

१९७१ सालमा जन्म भएकी जोशीले मतदाताको लाईनमै बसेर मतदान गरिन् ।जिल्ला खेलकुद विकास समिति राजविराज वडा नम्वर ७ को मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।सो केन्द्रमा १ हजार १ सय २८ जना मतदाता छन् । विहान ७ बजेदेखि सुरु भएको मतदान सप्तरीको ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानिय तहमा शान्तिपूर्ण रुपले मतदान भईरहेको छ ।

जिल्लाको १ सय ६४ वडामध्ये १ सय ६३ वटा वडामा निर्वाचन भईरहेको छ भने राजविराज नगरपालिका वडा नम्वर १५ का एक जना वडाध्यक्ष पदको उम्मेदवारको मृत्यु भएपछि सो वडाको मतदान असोज ५ गतेका लागि सारिएको छ ।

यसैविच 

स्थानीय निर्वाचनमा ६६ सय २७ पदका लागि ६ गुणा बढी ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् ।

निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय ९ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ पुरुष र ९ सय १९ महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म आठजना निर्विरोध भइसक्नु भएको छ ।

प्रदेश नम्बर २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन् । २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र कायम गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज दकालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेको अवस्थामा नागरिकता, जग्गाधनी प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी अन्य परिचयपत्रमार्फत मतदान गर्न सकिने व्यवस्था गरेको छ ।

यसैबीच 

सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ । निर्वाचनको समग्र पक्षलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख विजयलाल कायस्थले बताउनुभयो ।कायस्थका अनुसार सीमा क्षेत्रसहित सबै मतदान केन्द्रको विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत सुरक्षा योजनाअन्तर्गत निर्वाचनमा सुरक्षाकर्मी खटाइएको छ ।मतदान केन्द्रको पहिलो सुरक्षा घेरा नेपाल प्रहरीको हुनेछ भने दोस्रो घेरामा सशस्त्र प्रहरी राखिनेछ । तेस्रो घेराका रूपमा सेनाले गस्ती गर्नेछ ।

त्यसैगरि

आयोगले विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई अवलोकन गर्न सक्नेसमेत व्यवस्था गरेको छ । आयोगका अनुसार विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले प्रदेश नम्बर २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्नेछन् ।आयोगले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा संस्थाका २ हजार १ सय पर्यवेक्षकलाई अनुमति दिएको छ ।

योसँगै नयाँ संविधानले तय गरेको संघीय संरचनाको एउटा तहको निर्वाचन सम्पन्न हुनेछ । राजनीतिक विवाद साम्य नभएका कारण स्थानीय तहको चुनाव चरणबद्ध रूपमा गरिएको हो । यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा गरी ६ वटा प्रदेशमा चुनाव भइसकेको छ ।

यसैबीच 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले राजविराज नगरपालिकाबाट मतदान गर्नुभएको छ । राजविराजको वडा नम्बर २ अन्तर्गत पर्ने आधारभुत राजदेवी प्राथमिक विद्यालयको मतदान केन्द्र पुगेर प्रमुख आयुक्त यादवले मतदान गर्नुभएको हो ।

स्थानीय तहको निर्वाचन प्रदेश दुईका जनताका लागि ऐतीहासिक अवसर रहेको यादवले मतदानपछि प्रतिक्रिया दिनुभयो । मधेशका जिल्लाका सर्वसाधारणमा निर्वाचन प्रति निकै उत्साह देखिएको यादवको भनाई छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वार्ड नं २ को दुर्गा खोभारी जनता उच्च मा बि मतदान केन्द्रबाट राजपा नेता राजेन्द्र महतोले मतदान गर्नुभएको छ ।

त्यस्तै एमाले नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्रा.वि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । त्यस्तै कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर निधि स्कुलको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । यसैबीच, नेपाल कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई लक्ष्यित गरी गएराती गोली प्रहार भएको छ । प्रहार भएको गोली सांसद सिंहको सवारी साधनमा लागेको छ ।

सिंहमाथि लक्ष्यित गरी गोली प्रहार भएको नेपाली कांग्रेसले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्लाही ओलरा नगरपालिका ३ मा कांग्रेसका महिला उम्मेदवार चन्द्रिका देवीलाई भट्न जाने क्रममा आफुमाथि गोली प्रहर भएको सिंहले जानकारी दिनुभयो ।

सोही नगरपालिकाको वडा नम्बर ३ मा राजपा नेपालका तर्फबाट अध्यक्षका प्रत्यासी सुशिल मिश्राले आफुमाथि गोली प्रहार गरेको सिंहको दावी छ ।