पपुवा न्युगिनीलाई तीन विकेटले हराउँदै नेपाल विजयी

नेपालका लागि आसिफ शेख र सन्दीप लामिछानेको कीर्तिमानी साझेदारी

काठमाडौं,फाल्गुन,१९-नेपालले पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको छ।आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य पाएको नेपालले ४८ ओभरमा सात विकेट गुमाएर जित हासिल गरेको हो।

नेपालका लागि आशिफ शेखलले ८६ रन प्रहार गरे। उनले १३० बलमा दुई चौका र एक छक्का प्रहार गरे।त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले ३५ र कुशल मल्लले २३ रन बनाए।अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

पपुवा न्यूगिनीका लागि अशद भालाले तीन, सेमो कमिया र सेसे बउले दुई-दुई विकेट लिए।यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्यूगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। पपुवा न्यूगिनीका लागि टोनी उराले ३९, हिरी हिरीले ३१, किप्लिन डोरिगाले २६, गौडी टोकाले १५, नर्मन बनुवाले १४, सेसे बउ र असद भलाले ११-११ रन बनाए।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई-दुई, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।
यूएईमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई हराएको थियो। दोस्रो खेलमा फागुन १८ गते यूएईसँग पराजित भएको थियो भने आज तेस्रो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको छ।

यो जितसँगै नेपालको ३० अङ्क भएको छ। शीर्षस्थानका स्कटल्यान्ड र ओमनले विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान पक्का गरिसकेका छन्।तेस्रो स्थानमा रहेर विश्वकप छनोट प्रतियोगिता खेल्न नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन्।

नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन अब बाँकी पाँचवटै खेल जित्नुपर्नेछ। जसमध्ये अर्को खेल सोमबार यूएईसँग खेल्नेछ।त्यसपछिका चार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। जसमा दुई खेल यूएईसँग र दुई खेल पपुवा न्यूगिनीसँग हुनेछन्।