आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं,साउन,३०-

आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै अर्थात यज्ञोपवीत फेर्छन ।कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ । 

स्नान, ऋषि तर्पणपछि मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । जनै नलगाउने समुदायले पनि गुरु पुरोहितद्धारा रक्षा बन्धन गराउने परम्परा छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा प्रचलित छ ।

नेपालको तराई क्षेत्रमा यस दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ । आज विभिन्न थरीका गेडागुडी मिसाइएर बनाएको क्वाँटी खाने चलन छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ ।

जनै पूर्णिमाको अवसरमा काठमाडौंको पशुपतिनाथ, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागरलगायतका ताल, पोखरी र कुण्डमा मेला लागिरहेको छ ।