आज प्रधानमन्त्रीको निर्वाचन हुने,देउवा प्रधानमन्त्री वन्ने पक्का

काठमाडौ,जेठ, २३-

भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।

सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री पदमा कांग्रेस सभापति देउवाको एकल मनोनयन दर्ता छ ।

संसद्मा जारी गतिरोधलाई निकास दिन सभामुख घर्तीले आग्रह गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार संसद्को दुईवटा बैठक राख्न प्रस्ताव गर्नुभएको थियो ।

पहिलो बैठकले संसद्मा आजसम्म भएका काम÷कारबाही र राष्ट्रपतिबाट आएका पत्रबारे जानकारी दिने, त्यसपछि प्रमुख तीन दलका शीर्ष नेताहरू बोल्ने कार्यसूची तय गरिएको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।