सभामुख चयनको लागि आज उम्मेदवारी दर्ता हुदै

एमालेबाट देवराज घिमिरेलाई बनाउने अध्यक्ष ओलीको संकेत

काठमाडौं,माघ,३-प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते हुने निर्वाचनको उम्मेदवारी दर्ता आज मंगलवार हुदैछ।

सत्ता साझेदार दल एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ।जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो, तर माओवादीले यो पद छाड्न अस्वीकार गरेको छ।

प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ। त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ ।

एमाले उच्च स्रोतका अनुसार झापा २ बाट निर्वाचित देवराज घिमिरेको सम्भावना बढी छ।सभामुखका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव छविलाल विश्वकर्मा र सांसद विद्या भट्टराई पनि दावेदार हुन्।तर ओलीले घिमिरेलाई बनाउने संकेत गरेका छन् ।

सत्ता गठबन्धनको भागवण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ।उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ।रास्वपामा उपसभामुखको दावेदार सोभिता गौतम हुन् ।