भारतीय बाटो भएर पुग्नुपर्ने नरैनापुरको रोशनपुर्वामा बाटो बनाइँदै

नरैनापुर(बाँके), जेष्ठ ,०५-

बाटो निर्माण हुँदै

बाँकेको नरैनापुर गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको
छ ।

प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरेको गाउँपालिकाले वडा नम्बर २ रोशनपुर्वामा ४ मिटर चौडाईको ३ किलोमिटर लामो बाटो बनाउन थालेको छ । नेपाली गाउँ भएपनि बाटो नहुँदा भारतीय बाटो भएर पुग्नुपर्ने रोशनपुर्वामा केही दिन अघिदेखि शुरु भएको बाटो निर्माण कार्य बर्खा अगावै सकिने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

बाटो बनाउन स्थानीयले अवरोध गरेपछि अध्यक्ष शाह आफैं त्यहाँ उपस्थित भएर बाटो बनाउने कामको अगुवाई गर्नुभएको थियो । ‘निजी जग्गा भएकाले स्थानीयले शुरुमा त बाटो बनाउन अवरोध गरे तर पछि म स्वयम् त्यहाँ उपस्थित भएर स्थानीयलाई बाटोको महत्व र आवश्यकता बारे सम्झाई बुझाई गरेपछि डोजर र स्काभेटर लगाएर बाटो बनाउन शुरु गरेका छौं,’ अध्यक्ष शाहले भन्नुभयो ।

उहाँले यो बर्ष कच्ची बाटो बनाइने र अर्को बर्ष त्यसलाई बजेटमै राखेर कालोपत्रे गरिने अध्यक्ष शाहले बताउनुभयो । यो बाटो बनेसंगै भारतीय बाटो भएर रोशनपुर्वा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।