कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाईं

जनकपुरधाम,२९ भदौ      कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । निधिजस्तै सक्रिय छन्, राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । जनकपुरका लथालिंग अवस्थाका भित्री सडकमा महतोको ‘साइकल सवारी’ यतिबेला चर्चामा छ, मतदातामाझ ।

मैथिली सभ्यताको मुहान जनकपुरधाममा स्थानीय तह निर्वाचनको पारो चढेको छ । सबै दलका नेतारकार्यकर्ता घरदैलो र आमसभाहरुमा व्यस्त छन् । त्यसमा पनि, कांग्रेस र राजपाले भरखरै उपमहानगरमा बढुवा पाएको जनकपुरलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

दुवै दलका लागि फोरम नेपाल, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नयाँ शक्ति पार्टीहरुले काट्ने मत चुनौतीका रुपमा देखिन्छ । अन्य दलका लागि यो प्रदेश २ का एक सय ३६ तहमध्ये एउटा उपमहानगरको चुनाव मात्र हो । तर, कांग्रेस र राजपाका लागि प्रतिष्ठाको लडाईं ।

मधेस आन्दोलनका उद्गम स्थलमध्ये सप्तरी राजविराजको परिणाम राजपाका लागि अनुकुल नहुन सक्छ । वीरगञ्जमा कांग्रेस, फोरम नेपाल र राजपाबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । त्यसैले राजपा नेतृत्वले जनकपुर उपमहानगर जित्दै मधेस आन्दोलनको औचित्य स्थापित गर्न चाहेको छ । र, पार्टी उपाध्यक्ष लालकिशोर साहलाई नै मेयरको उम्मेदवार बनाएको छ । साह भन्छन्, ‘हाम्रा लागि जनतामाझ मधेसको मुद्दा स्थापित गर्ने मौका हो यो ।’

पहिलो र दोस्रो चरणको चुनावमा सहभागी नभएको राजपा तेस्रो चरणमा मैदानमा उत्रिएको छ । उम्मेदवारका आकांक्षी व्यवस्थापनको समस्या सबै दलमा देखिएको छ, जसबाट राजपा पनि मुक्त छैन । पार्टीले टिकट नदिएपछि राजपा नेता आभास लाभले जनकपुरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेसका लागि पनि जनकपुरको चुनावी परिणाम अर्थपूर्ण छ । धनुषा नै गृहजिल्ला रहेका निधिले प्रदेश २ मै सय सिटमा जित हात पारेर एमालेलाई उछिन्ने रणनीति घोषणा गरेका छन् । सोही महत्वाकांक्षी लक्ष्य प्राप्तिका लागि देउवाले प्रदेश २ को निर्वाचन कमान्ड निधिलाई नै सुम्पेका छन् ।

जनकपुरमा कांग्रेसका मेयर उम्मेदवार हुन्, मनोज साह । निधिको रोजाईमा परेका साहलाई नयाँ अनुहारका रुपमा पनि प्रचार गरिएको छ । तथापि, साह आफूलाई नयाँ अनुहार ठान्दैनन् । भन्छन्, ‘०४६ को जनआन्दोलनदेखि नै राजनीतिमा सक्रिय छु, पार्टीको नगरसभापतिको चुनावमा सबैभन्दा धेरै मत पाएको छु, कसरी नयाँ अनुहार रु’ जनकपुरको परिणाम आफ्नो पक्षमा आएन भने निधिसामु प्रतिष्ठाको प्रश्न खडा हुनेछ । अन्य सात जिल्ला नगई जनकपुरमै उनी केन्द्रित हुनुको कारण पनि त्यही हो ।

जनकपुरको ब्राम्हण समुदाय निधिसँग चिढिएका छन् । उनी अहिले सोही समुदायलाई फकाउँदै चुनावी परिणाम पार्टीको पोल्टामा पार्न लागिपरेका छन् । उक्त समुदाय निधिसँग खुशी हुन्छ कि हुँदैन भन्ने विषयले नै जनकपुरमा कांग्रेसको स्थिति निक्र्योल गर्ने भने निश्चित छ ।

यस्ता छन् एजेन्डा

राजपा उम्मेदवार साहले नारा दिएका छन्, जनकपुरलाई धामका रुपमा विकास गर्नेछौं । धार्मिक पर्यटनमार्फत् नगरको आर्थिक स्रोत मजबुत बनाउने सपना उनले बाँडिरहेका छन् ।

सामुदायिक विश्वविद्यालय र मेडिकल कलेजको स्थापना पनि उनको चुनावी एजेन्डाको अग्रपंक्तिमा छन् । ‘बृहत्तर जनकपुरको अवधारणामा काम गर्न सक्यौं भने यो पाँच वर्षमा केही हासिल गर्न सक्छौं,’ चुनाव प्रचार प्रचारमा व्यस्त उनी भन्छन् ।

कांग्रेसका मेयर उम्मेदवार साहको मुख्य एजेन्डा छ, ‘जनकपुरलाई प्रदेशको राजधानी बनाउँछौं ।’ उनको पुरक नारा भने राजपाका साहकै जस्तो धार्मिक, पर्यटकीय नगर बनाउने छ ।

दुवैको दाबी जित सुनिश्चित

चुनाव प्रचारका लागि एक दिन मात्र बाँकी छ । राजपा उम्मेदवार साहले २५ वटै वडामा घरदैलो भ्याइसके । जनमत आफ्ना पक्षमा देखिएको दाबी गर्दै उनी भन्छन्, ‘जनता राजपाको पक्षमा छन् । जित सुनिश्चित छ ।’

कांग्रेसका उम्मेदवार साहचाहीं आफ्नो कुनै प्रतिस्पर्धी नै नरहेको बताउँछन् । अन्य दलले सबै वडामा उम्मेदवार दिन नसक्नु त्यसको प्रमाण रहेको उनको भनाइ छ । साह भन्छन्, ‘उनीहरुको संगठन छैन भन्ने यसबाट स्पष्ट बुझिन्छ । हामीले सबै वडामा उम्मेदवारी दिएका छौं । अब कसले चुनाव जित्छ ??
अनलाइनखबर बाट