दसैंको अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं, भदौ २७-

सरकार र यातायात व्यवसायीबीच सहमति भएसँगै आज देखि खुलेको दसैंको अग्रिम टिकट बुकिङ गर्न पुग्ने सर्वसाधारणको निकै ठूलो घुइँचो लागेको छ ।

हिन्दूको महान् पर्व वडादसैं सुरु भएसँगै राजधानीबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । त्यसैका लागि सरकारले बसको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएको हो ।

काठमाडौको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, बल्खु, सुन्धारालगायत स्थानमा अग्रिम टिकट काट्नेको घुइँचो लागेको हो ।

यातायात व्यवसायी र सरकारबीचको विवाद नमिल्दा ढिलो सुरु भएको टिकट बुकिङ गराउन राति २ बजेदेखि सर्वसाधारण लाइनमा बसेका थिए ।

टिकट काउन्टर बिहान ६ बजेदेखि खुल्ने भएकाले सर्वसाधारण मध्यरातदेखि नै लाइनमा बसेका थिए । रातभर निन्द्रा माया मारेर लाइनमा बस्यो तर टिकट दिने काम भने निकै सुस्त छ ।

भोको पेट सात÷आठ घन्टा लाइनमा बस्दा पनि टिकट पाउने समय नआउँदा सर्वसाधारण दिक्क छन् ।

व्यवसायी भने काउन्टरमा जनशक्ति अभाव हुँदा बुकिङ ढिलो भएको लाचारी व्यक्त गर्दछन् । जनशक्ति थोरै छन्, टिकट लिन आउनेको सख्या धेरै । यसैले छिटो नभएको उनीहरुको जवाफ छ ।

एकैपटक परेको चापको व्यवस्थापन के–कसरी भइरहेको छ भन्ने अनुगमन गर्नुपर्ने निकायको भने चासो देखिएन ।

सर्वसाधारण भने जेजस्तो कस्ट पाएपनि टिकट लिन पाएकामा राहत महसुस गर्दै थिए । जति सास्ती भएपनि दसैं त मनाउनै पर्ने बाध्यतालाई स्वीकार्नुको विकल्प उनीहरुसँग छैन ।

दसैंको मुखमा टिकट खुलाएर सर्वसाधारण लुट्ने खेल गरिएको गुनासो उनीहरुको छ ।

दसैंमा दैनिक तीन हजार गाडी काठमाडौंबाट छुट्ने व्यवस्था मिलाइएको राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।

१६ सिटे माइक्रोबसदेखि ४१ सिटसम्मको बस सन्चालनमा ल्याउने महासंघले जनाएको छ ।ईमेजबाट