एमाले-माओवादी बिच ७ बुँदे सहमतीमा हस्ताक्षर

नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने

काठमाण्डौं,फाल्गु,७-

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर एकता गर्ने सात बुँदे सहमतीमा हस्ताक्षर भएको छ।

पार्टी एकता सहमती पत्रमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टी एकता संयोजन समितिमा रहेका एमाले नेता झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।

एमाले र माओवादीले १७ असोजमा दुई पार्टीबीच निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि दर्जनौं बैठक र अनेकौं प्रयासपछि दुई पार्टीबीच एकताको घोषणा भएको हो।

गत बिहिबार मानभवन बैठकमा एमाले नेताहरूले जनताको बहुदलीय जनवादलाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनु पर्ने अडान लिएपछि एकता वार्तामा गतिरोध आएको थियो। साथै ओली दाहाल दुई जना अध्यक्ष रहने सहमती भएपनि अन्य शीर्ष नेताहरूको पद व्यवस्थापन गर्नुपर्ने माग पनि भएको थियो।

मानभवनमा आएको गतिरोध हटाउन यसबीचमा ओली दाहालबीच एक्लाएक्लै केही चरण छलफल भए भने अन्य नेताहरूबीच पनि भेटवार्ताहरू भए। आइतबार ओली र दाहालबीच ठिमीमा लामो वार्ता भएपछि दुई नेता सोमबार बिहान फेरि भेटेर सिद्धान्तको विषय एकता महाधिवशेनबाट टुंग्याउन सहमत भएका थिए।

एकीकृत पार्टीको मुख्य नेतृत्व र सिद्धान्तको विषयमा सहमती जुटेपछि बालुवाटारमा भएको निर्णायक बैठकमा एकता गर्ने सहमतीमा हस्ताक्षर भएको हो।

सात बुँदे सहमतीमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त हुने उल्लेख छ। सहमतीमा एमालेले मान्दै आएको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको एक्क्इसौं शताब्दीको जनवाद तथा माओवादबारे ‘विधिसम्मत छलफल गरी विधिसम्मत आवश्यक परिमार्जनर विकास गर्न सकिने’ उल्लेख छ।

‘सामाजिक न्याया र आर्थिक रुपान्तरण मार्फत समाजवादको आधार निर्माण गरिने’ उल्लेख गरिएको सहमतीमा पार्टी र सरकारको नेतृत्वबारे केही उल्लेख गरिएको छैन।

बिहिबार एकतामा सहमती नजुटेपछि शुक्रबार प्रधानमन्त्री ओलीले आफुसँगै सपथ लिनेगरी दुई जना मन्त्रीको नाम मागेपनि माओवादीले दिएको थिएन। बालुवाटारमा पार्टी एकता सम्बन्धमा लिखित सहमती भएसँगै अब सरकार विस्तारका लागि पनि बाटो खुलेको छ।नेपालखबरबाट साभार 

(७ बुँदे सहमती हेर्नुहोस्)