सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै

एमसीसीबारे छलफल हुने

काठमाडौं,फागुन,७-सत्ता साझेदारीहरुको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको हो ।बैठकका लागी बिहान १० बजेबालुवाटार बोलाइएको छ ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि निष्कर्षविहीन भएको थियो ।

सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् ।

 

एमसीसीमा सहमति खोज्न बिहीबार बिहान प्रधानमन्त्री शेरबादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

बिहीबार नै सिंहदरबारमा दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको थियो ।

गठबन्धनको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, कानून मन्त्री दिलेन्द्रप्रसाद बडू बस्नुभएको थियो।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुभयो ।