बुद्ध एअरले नेपालगन्ज देखि भारत सम्म उडान गर्ने

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज ,जेष्ठ,२३-
बुद्ध एअरले नेपालगन्ज देखि भारतको दिल्लीका लागि उडानको तयारी गरेको छ। त्यसका लागि बुद्ध एअरले नेपाल सरकारलाई भारत सँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रीयाका विषयमा छलफल अघि बढाउन आग्रह समेत गरेको छ।

उडान तयारीका सम्बन्धमा आज बुद्ध एअरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगन्ज देखि दिल्लीका लागि दैनिक तीन उडान गर्न सकिने जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा बुद्ध एअरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले नेपालगन्ज देखि दिल्ली उडानका लागि सरकारलाई गत सोमबार निवेदन दिएको बताउनु भयो।

उहाँका अनुसार बुद्ध एअरले बिहान ७ बजे, दिउँसो १ बजे र राती ७ बजे उडान गर्ने तयारी गरेको छ। दैनिक २०० यात्रुले उडान भर्ने पनि प्रबन्ध निर्देशक बस्नेतले बताउनु भयो।

नेपालगन्ज देखि दिल्ली उडानका लागि नेपालगन्जको राँझा बिमानस्थलको अहिलेको टर्मिनललाई अन्तराष्ट्रीयस्तरको बनाउनु पर्ने सुरक्षा संरचना थप गरिनु पर्ने र अध्यागमनको व्यवस्था गर्न आवश्यक रहेको बताइएको छ। यी सबै काम सक्न करिब ८ महिना लाग्न सक्ने बुद्ध एअरले जनाएको छ।