शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द

काठमाडौं,कार्तिक,१२-

सप्तरीको राजविराजबाट काठमाडौ आउँदै गरेको यात्रुबस धादिङमा दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३१ पुगेको छ । दुर्घटनामा सप्तरीकै २० भन्दा बढीको मत्यु भएपछि सिङ्गो जिल्ला शोकमग्न भएको छ । दिपावली र छठ मनाएर काठमाडौं फर्किएकाहरुको सो दुर्घटनामा मृत्यु भएको हो ।

यसैबीच, बस दुर्घटनाको शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द हुने भएका छन् । बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आज शोक मनाउने भएका हुन् ।

सबै स्थानीय तहमा आज एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिनुभयो । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् ।

यता सरकारले बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले ७ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन बुझाउने छ ।