त्रिशूलीमा भएको बस दुर्घटना छानबिन गर्न समिति गठन

धादिङ,कात्तिक ११-

सरकारले धादिङमा शनिबार भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक पनि रहनेछन्।

मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यात्रा गर्दा यात्रु वर्ग र सम्बद्ध सबै निकायले आ–आफ्नोतर्फबाट सावधानी अपनाउन र ट्राफिक व्यवस्थापनमा उचित ध्यान दिनसमेत मन्त्रालयले आग्रह गरेको छ।

राजविराजबाट आएको बसका यात्रु लिएर हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान ५ बजेर ५५ मिनेटमा गजुरी गाउँपालिका–५ पोखरे खोलास्थित बांगेमोडमा अनियन्त्रित भई राजमार्गबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो। गृह मन्त्रालयले हालसम्म ३१ जनाको घटानस्थलमै मृत्यु भएको र १६ जना घाइते भएको जानकारी प्राप्त भएको जनाएको छ।

गम्भीर घाइतेमध्ये दुई जनालाई ट्रमा सेन्टर काठमाडौंमा र अन्य घाइतेलाई गजुरीस्थित अस्पतालमा उपचारका लागि राखिएको छ। खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।