चर्च ब्वाइजको लगातार दोस्रो जित, थ्री स्टार र फ्रेन्ड्सले बराबरी खेले

काठमाडौं,फाल्गुन,२३-राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार अर्को नव प्रवेशी क्लब एफसी खुमलटारलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । एरिक विष्टले एक गोल थपे । खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काए । जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले २ खेलमा ६ अंक जोडेको छ । मंगलबार नै भएको अर्को खेलमा थ्री स्टार र फ्रेन्ड्स क्लबले ३–३ गोलको बराबरी खेलेर अंक बाँडेका छन् । च्यासल मैदानमा भएको खेलमा थ्री स्टारले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन ।

फ्रेण्ड्सका कुशल फुयालले इन्जुरी टाइममा गोल गर्दै आफ्नो टिमलाई हारबाट बचाए । बराबरीपछि दुवै टिमले लिगमा पहिलो एक अंक जोडेका छन् । यसअघि फ्रेण्ड्स उद्घाटन खेलमा एफसी खुमलटारसँग पराजित भएको थियो भने थ्री स्टार एपीएफसँग पराजित भएको थियो ।