भारतलाई हराएर च्याम्पियन बनेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, असोज १२-

साफ यु–१८ फुटबल च्याम्पियनसिप विजेता नेपाली टोली  आज स्वदेश फर्किएको छ ।भुटानको थिम्पुमा बुधबार सम्पन्न १८ वर्षमुनिको सो प्रतियोगिता जित्दै नेपाली टोली आज दिउँसो १ बजे काठमाडौं आइपुगेको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरेका थिए ।भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार भारतलाई २–० ले हराउँदै नेपालले साविक उपाधि रक्षा गरेको थियो । नेपालको जितमा दुबै गोल दिनेश हेन्जनले गरे ।

दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यु–१९ फुटबलको उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता यु–१८ को ढाँचामा खेलाउन थालिएको हो ।

प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सर्वाधिक अंक प्राप्त गर्ने टोली विजेता बनेको हो ।नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।