नेकपाले प्रचण्डको अध्यक्षतामा सांगठनिक तथा पार्टीका अन्य निर्णय गर्ने

काठमाडौं,भदौ,५-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष दाहालले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि आज अपराह्न सिंगापुर प्रस्थान गर्दैहुनुहुन्छ ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि चिकित्सकको सुझावअनुसार पुनः जान लाग्नु भएको हो ।प्रधानमन्त्री ओली ७/१० दिन त्यहाँ रहने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी आजको बैठकमा भएको जानकारी दिनुभयो ।

नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । (रासस)