ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, विश्वभर ९० लाख बढी संक्रमित

एजेन्सी,असार,८-दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मृत्यु हुने मुलुक हो ।

कोरोना भाइरसको महामारीबाट ब्राजिलमा साढे ५० हजार मानिसको मृत्यु हुँदा संक्रमित भने १० लाख ८७ हजार पुगेको छ ।

विश्वभर भने संक्रमितको संख्या ९० लाख ४४ हजार नाघेको छ । संक्रमितको बढ्दो संख्यालाई आंकलन गर्दा अबको एक दुई सातामै संसारमा कोरानाबाट संक्रमित हुनेको संख्या एक करोड पुग्ने देखिँदैछ ।

कोराना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या भने ४ लाख ७० हजार कटेको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख २२ हजार मानिसको मृत्यु भएको छ । त्यहाँ २३ लाख ५६ हजार संक्रमित भएका छन् ।

ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित देखिएका छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको आलोचना गर्दा उनी भने बेफ्रिकी देखिएका छन् ।