भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं,माघ,२-भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ नाघेको छ । जसमा ओमिक्रोन संक्रमितको संख्या पनि दिनपरदिन बढ्दै गएको छ ।

 

पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोन संक्रमित अघिल्लो दिनको तुलनामा ५ प्रतिशत बढेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हालै सम्पन्न मकर संक्रान्तिको बेला लाखौं हिन्दू भक्तजनहरुले गंगा नदीमा सामूहिक स्नान गरेका कारण थप संक्रमित हुने आशंका गरिएको छ । मकर संक्रान्तिको बेला पश्चिम बंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ४१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ ।

यद्दपी सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन ।