विमल घर्ती मगर चम्किदा मछिन्द्रको शानदार जित

काठमाडौं,माघ,२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले दुई गोल गरे । यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो ।

तर, पहिलो हाफमा मछिन्द्रले पाएको थुप्रै अवसरमा गोल निकाल्न सकेन । खेलको १४ औं मिनेटमा रंजित धिमालको क्रसमा मछिन्द्रका देवेन्द्र तामाङको हेडर बलले पोस्टको दिशा लिन सकेन ।

खेलको २२ औं मिनेटमा छिरिङ गुरुङको क्रसमा विमल घर्ति मगरको हेड बल पोस्ट भन्दा केहि माथिबाट बाहिरिएको थियो ।

२५ औं मिनेटमा कर्नरबाट आएको बलमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको प्रहार ब्रिगेडका गोलकिपर गुरप्रित सिंहले मुश्किलले बचाए ।खेलको २९ औं मिनेटमा रंजितको कर्नरमा मछिन्द्रका नोर्लन नोब्रुजोभको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको ४३ औं मिनेटमा मछिन्द्रका सुनिल बलको प्रहार ब्रिगेडका गोलकिपर सिंहले मुश्किलले बचाए ।५१ औं मिनेटमा रंजितको कर्नरमा सिक्स यार्ड बक्स भित्रबाट देबेन्द्रको हेडर आकाशिएको थियो ।

तर, खेलको ५६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाए  ।ब्रिगेडका गोलकिपर सिंहले नियन्त्रणमा लिन नसकेको बल खोस्दै  छिरिङ गुरुङले गरेको क्रसमा रेजिन सुब्बाले उपलब्ध गराएको बलमा विमलले हेड मार्फत गोल गरे ।  

५८  औं मिनेटमा मछिन्द्रका सुनिलले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो ।खेलको ६२ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।रंजितले उपलब्ध गराएको लामो पासमा विमलले ब्रिगेडका डिफेन्डर इबोडी ओट्टोउलाई बिट गर्दै गोल गरे ।

विमलले ६६ औं मिनेटमा ह्याट्रिकको मौका गुमाए । कप्तान सुजलको क्रसमा विमलले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल ब्रिगेडका गोलकिपर सिंहले मुश्किलले बचाए ।

यस्तै ७६ औं मिनेटमा विमलले खाली पोस्टमा गोल गर्न सकेनन् । ब्रिगेडका गोलकिपर बिट भईसकेको अवस्थामा विमलले बाहिर प्रहार गरे।  

खेलको ८४ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । विमलको पासमा उनले सहजै गोल गरे ।चोटबाट मुक्त हुँदै मैदान फर्किएका रेजिनले पहिलो खेलमै गोल गरेका हुन् ।

खेलको ८६ औं मिनेटमा मछिन्द्रका अविशेक रिजालले गोल गरेका थिए। तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन  ।

त्यसपछि खेलको इन्जुरी समयमा अविशेकले गोल गर्दै मछिन्द्रलाई ४-० गोलको जित दिलाए । कप्तान सुजलले उपलब्ध गराएको पासमा उनले ब्रिगेडका गोलकिपर सिंहलाई बिट गर्दै गोल गरे ।

यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ ।मछिन्द्रले उपाधि होड समेत बलियो बनाएको छ ।

दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ ।ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।  खेलमा मछिन्द्रका विमल म्यान अफ दि म्याच चुनिए ।ब्रिगेडका रन्दिप पौडेल इमर्जिङ प्लेयर चुनिए ।स्रोत:खेलपाटी