राष्ट्रिय पौडिमा आर्मिकी गौरिका सिंहले जितिन ७ राष्ट्रिय कीर्तिमान सहित १२ स्वर्ण पदक

नेपालगन्ज,बैशाख,११-

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंहले ७ राष्ट्रिय कीर्तिमानसहित १२ स्वर्ण पदक जितेकी छिन् ।

बुधबार सम्पन्न पौडीमा गौरिकाले अन्तिम दिन ३ राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण जित्दै व्यक्तिगत १२ स्वर्ण हात पारेकी हुन् ।

नेपालगञ्जमा बुधबार गौरिकाले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । गौरिकाले २ मिनेट ३२ दशमलब ०० सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन् ।

उनले आफ्नै नाममा रहेको २ मिनेट ३२ दशमलब ५१ सेकेण्डको कीर्तिमान भंग गरिन् । यस स्पर्धामा आर्मीकी डुवना लामाले रजत र एपीएफकी टिशा शाक्यले कांस्य जितिन् ।

 

यस्तै गौरिकाले महिला ५० मिटर फ्रिस्टाइलको हिट चरणमा कीर्तिमान बनाईन् । उनले हिट चरणमा २७ दशमलब ८१ सेकेण्डको समय निकाल्दै आफ्नै नाममा रहेको २७ दशमलब ९५ सेकेण्डको कीर्तिमान भंग गरिन् । फाइनल चरणमा गौरिकाले २७ दशमलब ५९ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् ।

यस स्पर्धामा आर्मीकी सोफिया शाहले रजत र एपीएफकी टिशा शाक्यले कांस्य जितिन् ।

यस्तै गौरिकाले महिला १०० मिटर ब्याकस्ट्रोक्समा कीर्तिमानसहित स्वर्ण जितिन् । गौरिकाले १ मिनेट ०७ दशमलब २२ सेकेण्डको समय निकाल्दै आफ्नै नाममा रहेको १ मिनेट ८ दशमलब ६३ सेकेण्डको कीर्तिमान भंग गरेकी हुन् ।

यस स्पर्धामा आर्मीकी डुवना लामाले रजत र पुलिसकी अनुष्का पोखरेलले कांस्य जितिन् ।

प्रतियोगिता अन्तर्गत पुरुष २०० मिटरमा व्यक्तिगत मिड्लेमा पुलिसका शयद हाम्जा शाहले कीर्तिमानसहित स्वर्ण जिते । उनले २ मिनेट १७ दशमलब १९ सेकेण्डको समय निकाल्दै शिरिष गुरुङको कीर्तिमान भंग गरे । शिरीषले २ मिनेट २६ दशमलब १७ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

यस स्पर्धामा रजत जितेका एनआरएनएको नाथन दोर्जे शेर्पा र कांस्य जितेका आर्मीका अनुभव सुब्बाले समेत कीर्तिमान भंग गरे ।

पुरुष ५० हजार फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले कीर्तिमानसहित स्वर्ण जिते । उनले २५ दशमलब ०६ सेकेण्डको समय निकाल्दै शिरिष गुरुङको नाममा रहेको २५ दशमलब ८० सेकेण्डको कीर्तिमान भंग गरे । यस स्पर्धामा पुलिसका शयद हम्जा शाहले रजत र आर्मीका अनुभव सुब्बाले कांस्य जिते ।

पुरुष १०० मिटर ब्याकस्ट्रोक्समा एनआरएनएका नाथन दोर्जे शेर्पाले कीर्तिमानसहित स्वर्ण जिते । उनले १ मिनेट ४ दशमलब ०६ सेकेण्डको समय निकाल्दै प्रसान्त राज जोशीको नाममा रहेको कीर्तिमान भंग गरे । एपीएफका तेञ्जिङ्ग गुरुङले रजत र नासिर हुसेनले कांस्य जिते ।

पुरुष फ्रीस्टाइलमा पुलिसले स्वर्ण, आर्मीले रजत र एपीएफले कांस्य जिते । महिलातर्फ आर्मीले स्वर्ण, पुलिसले रजत र एपीएफले कांस्य जिते ।