नेपाली सेनाले देशभर सेना दिवस मनाउँदै

टुंडिखेलमा विशेष समारोह गरिने

काठमाडौं, फागुन,१-

नेपाली सेनाले शिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ ।सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।

नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायतका कार्यक्रम राखिएकोछ ।

सेना दिवसको खुसियालीमा आज साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसंगीत पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सहभागी हुने जो कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक मुख्यालय जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।

वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएकामा हालसम्म झण्डै १ लाख १५ हजार सैनिकबाट योगदान भइसकेको छ ।ईमेजखबर