चौरजहारी घटना जातीय अहंकारवादको उपज भएको गृहमन्त्री थापाको भनाइ

काठमाडौं,जेठ,१३-गृहमन्त्री रामबहादुर थापाले पश्चिम रुकुमको चौरजहारीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज भएको टिप्पणी गर्नुभएको छ।

मंगलबार घटनाबारे राष्ट्रिय सभालाई जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो।

सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवा युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको भन्दै गृहमन्त्री थापाले त्यसमध्ये एकजना भने बीच बाटोबाटै फर्किएको जानकारी दिनुभयो ।

घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै उहांले पश्चिम रुकुमको जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाएको भन्ने सुन्नमा आएको तर त्यो समितिको कुनै औचित्य नहुने बताउनुभयो । जिल्लामा बनाइएको समितिलाई घटना ढाकछोप गर्न बनाइएको हुनसक्ने आशंका गर्दै उहाॅंले केन्द्रबाट समिति बनाइएको जानकारी दिनुभयो।

राष्ट्रिय सभा बैठकमा सांसदले उक्त घटनाबारे सरकारको जवाफ मागेका थिए । सांसदहरुले घटनामा संलग्ने सबै दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।

गत शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवाका साथ रुकुमको चौरजहारी जाँदा केटीका आफन्तसहित गाउँलेले लखेट्ने क्रममा नवराजसहित तीनजनाको भेरी नदीमा हामफाल्दा मृत्यु भएको बताइएको छ । नदीमा हामफालेका अरु तीन जना अझै बेपत्ता छन् ।