रुकुम-चौरजहारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं,जेठ,१३-गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

मंगलबार राष्ट्रियसभामा घटनाबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्न समिति बनाइएको बताउनुभयो। गृहमन्त्री थापाले छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधीवक्ताको कार्यालयका प्रतिनिधि र गृहका उपसचिव रहने जानकारी दिनुभयो ।

बेपत्ता रहेका तीन जनाको खोजी गर्न गोताखोर पठाउने काम भइरहेको भन्दै उनले प्रेमिका भगाउन गएका नवराज विकसहित तीन जनाको शव फेला परेको जानकारी दिनुभयो ।

रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा शनिबार साँझ मल्ल थरकी प्रेमिकालाई भगाउन गएका भेरी नगरपालिका ४ जाजरकोटका नवराज बिक र उनका दुई जना साथीको मृत्यु भएको थियो । मृत्यु हुनेमा टीकाराम सुनार र गणेश बुढा पनि छन् । लोकेन्द्र सुनार, सञ्जु बिक र गोविन्द शाही अझै बेपत्ता छन् । 

शनिबार नवराज आफ्ना १८ जना साथीलाई लिएर प्रेमिका भगाउन जाँदा गाउँलेले लखेट्ने क्रममा केही भेरी नदीमा हामफालेका थिए भने १२ जना युवालाई नियन्त्रण लिएर राखेका थिए । पछि उनीहरुलाई प्रहरीले छुटाएका थिए ।

जाजरकोटका युवालाई सोती गाउँका मानिसले कुटपिट गर्दै लखेटेपछि ज्यान जोगाउन नदीमा हाम फाल्दा यो घटना भएको प्रहरीले जनाएको छ । नदीमा हाम फालेका एक जना भने प्रहरीको सम्पर्कमा आएको जनाइएको छ ।