धनकुटा देशकै सबैभन्दा सफा सहर, इलाम दोस्रोमा

इलाम, साउन ,१८-

सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २६३ नगरपालिकामध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रूपमा पुरस्कृत गरेको हो ।

आव २०७३/७४ को वार्षिक कार्यक्रमअनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पु¥याउने उत्कृष्ट तीनवटा नगरपालिकालाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरिएको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।

इलाम नगरपालिका २०६९ सालमा ५८ वटा नगरपालिकामध्ये दोस्रो सफा शहर र २०७२ सालमा २१७ वटा नगरपालिकामध्ये तेस्रो सफा शहरका रूपमा पुरस्कृत भएको थियो ।

सौर्यबत्तीको काम शुरू

यसैबीच, सौर्यबत्ती जडानका लागि इलाम सदरमुकाममा पोल गाड्ने काम शुरू भएको छ ।

इलाम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेको सडक बत्तीलाई व्यवस्थित गर्दै सौर्यबत्तीका लागि पोलिङ शुरू गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।

इलाम नगरपालिकासँगको समन्वयमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले चालु आवको माघ मसान्तसम्ममा काम सक्ने गरी सौर्यबत्तीको काम थालेको डिभिजन कार्यालयका सन्तोष नेम्वाङले जानकारी दिए ।

सौर्य बत्ती जडानका लागि सिप्रदी इनर्जीले भ्याटसहित रु एक करोड ८९ लाख ३२ हजारमा ठेक्का लिएको हो । इलाम नगरपालिकाको साविक वडा नं १, २ र ३ को मुख्य बजार क्षेत्रमा ३०० सम्म सौर्यबत्ती जडान गरिने कार्यालयले जनाएको छ । (रासस)