चीनद्वारा भारतलाई चेतावनी

काठमाडौं,साउन, १९-

चीन र भारतबीचमा दोक्लमको चिकेन नेकमा बढिरहेको द्वन्द्व अझै चर्किने सम्भावना देखिन्छ । चीनको स्वायत्त प्रदेश तिब्बत र भारतको सिक्किमको सीमा क्षेत्रमा विगत डेढ महिनादेखि सीमा विवाद चर्किरहेको छ ।

चीनको परराष्ट्र मन्त्रालयले बुधबार ‘भारतीय सीमा सुरक्षा बलले चीन–भारत सीमा क्षेत्रको उल्लंघन गरी चीनको भू-भागमा प्रवेश गरेको तथ्यगत प्रतिवेदन र चीनको अडान’ शीर्षकमा दस्तावेज नै जारी गरेर अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षण गराएको छ ।उक्त दस्तावेजमा चीनको तिब्बत र सिक्किमको उत्तरी क्षेत्रमा रहेको दोक्लम क्षेत्रको भौगोलिक र ऐतिहासिक अवस्थाका तथ्यगत कुराहरु समावेस गरिएको छ ।

चीनले आफ्नो भू-खण्डको सार्वभौमिकता संरक्षण गर्ने घोषणा गर्दै अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत प्रचलन अनुसार चीनको अडान सही, निष्पक्ष र न्याय संगत रहेको चिनियाँ परराष्ट्र मन्त्रालयले बताएको छ । चीनले जारी गरेको दस्तावेजमा गत जुन अठार तारिख भारतीय सीमा सुरक्षा बलले चीन–भारत सिमानाको दोक्लम क्षेत्रमा सीमा उल्लंघन गरी चीनको भूखण्डमा प्रवेश गरेको कुरा उल्लेख छ ।

अहिलेसम्म पनि भारतीय सेना अवैध रुपमा चीनको भूखण्डमा रहिरहेको उल्लेख गर्दै विनासर्त तुरुन्तै पछाडि हट्न भारतीय सेनालाई चेतावनी दिइएको छ । उक्त दस्तावेजमा सन् १८९० को सन्धि र भारतले हस्ताक्षर गरेको चीन–भारत सीमा रेखाको अक्षरशः पालना गर्न भारतलाई चीनले ताकिता गरेको औँल्याइएको छ । दस्तावेजमा भनिएको छ । चिनियाँ भूभागको सार्वभौमिकताको सम्मान गर्दै तत्काल सीमा उल्लंघन गरेका भारतीय सीमा सुरक्षा बललाई भारतीय भूखण्डमा फर्किएर दुई देश बीचको सीमा क्षेत्रको शान्ति र स्थिरतालाई पुनःस्थापना गर्न चीन भारतलाई ताकिता गर्दछ ।

उक्त दस्तावेजमा भनिएको छः दोक्लाम क्षेत्र चीनको तिब्बत स्वायत्त प्रदेशको यातुङ जिल्लामा पर्दछ । त्यसको पश्चिमपट्टिको भाग भारतको सिक्किमसँग जोडिन्छ भने दक्षिणी पट्टि भूटानसँग सीमा जोडिएको छ । सीमा उल्लंघन भएयता चीनले उच्च संयम र धैर्य कायम राखी कूटनीतिक तरिकामार्फत समस्याको समाधानका लागि भारतसँग सम्पर्क राख्दै आएको छ । भारतले तत्काल बिनाशर्त सीमा उल्लंघन गरिरहेका सीमा सुरक्षा बललाई आफ्नो भूखण्डमा फिर्ता गर्नुपर्छ । यो द्वन्द्व समाधान गर्ने एकमात्र विकल्प हो । त्यसकारण विनासर्त भारतीय फौज चिनियाँ भूमिबाट फर्कनु पर्छ ।

यसैबीच चिनियाँ परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले चीनले किन यस्तो दस्तावेज जारी गरेको र अहिलेकै समय किन रोजिएको भन्ने प्रश्न गरेका छन् । पत्रकारको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले भनेका छन् ।

‘गत जुन अठार तारिख भारतीय सीमा सुरक्षा बलले दोक्लमस्थित चीन–भारत सीमा क्षेत्र उल्लंघन गरी चीनको भूखण्डमा प्रवेश गरेको र हालसम्म भारतीय सेना अवैध रुपमा चीनको भूखण्डमा रहिरहेकाले चीनले कूटनीतिक तरिकामार्फत भारतसमक्ष गम्भीर आपत्ति उठाउँदा पनि भारतले टेरेको छैन । साभार : रिपोर्टस नेपालबाट