राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेस गरिने

एमाले माओवादी एकता

काठमाडौं,चैत,११-

एमाले–माओवादी पार्टी एकता घोषणाको अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत अन्तिम साता कम्युनिष्ट गठबन्धनको एकताको घोषणा गर्ने प्रस्ताव गरेपछि माओवादी र एमाले आन्तरिक तयारीमा जुटेका हुन ।

प्रधानमन्त्री ओलीले यहि चैत २३ अघि नै पार्टी एकता गर्नेगरि प्रक्रिया अघिबढाउन आग्रह गरेपछि अहिले दुबै दल अन्तिम कसरतमा जुटेको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएसंगै भारत भ्रमणमा जाने भएपछि उहाँको भारत भ्रमणअघि नै पार्टी एकता घोषणा गर्ने तयारी भएको हो । एमालेले पार्टी संगठनको सदस्य संख्या, कमिटीको आकार, नेता-कार्यकर्ताको कमिटीलगायत सबै चुस्त-दुरुस्त तथ्यांक तयारी अवस्थामा राखेको एमाले सचिव योगेश भट्टराइले जानकारी दिनुभयो ।

तर, माओवादीको अहिलेसम्म पनि सदस्य संख्या र पार्टी कमिटीको संख्यादेखि नेता-कार्यकर्ताको जिम्मेवारी लगायतको काम बाँकी छ । माओवादी प्रवक्ता पम्पा भुषालले केहि दिनमा पार्टी एकताको तयारी पुरा हुने जानकारी दिनुभयो । एमाले–माओवादी एकतापछि निर्माण हुने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तीन सय हाराहारीमा बनाउने गरी अन्तरिम विधान बनाउन गठित कार्यदलले प्रस्ताव गर्ने तयारी गरेको छ ।

राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेस गरिने
एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले मस्यौदा प्रतिवेदन दफाबार छलफलका लागि आज कार्यदल बैठकमा पेस गर्दैछ । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन दफाबार छलफलपछि अन्तिम रुप दिइ एकता संयोजन समितिमा पेस गर्नेछ ।

कार्यदलले मस्यौदा प्रतिवेदन लेखन सकिसकेको छ । एकता प्रक्रियाको विधान मस्यौदा कार्यदलले भने प्रारम्भिक मस्यौदा सकेर दफाबार छलफल गरिरहेको छ । तर, विधान मस्यौदा कार्यदलका संयोजक एवं माओवादी केन्द्रका नेता रामबहादुर थापा मन्त्री भएपछि प्रतिवेदनले अन्तिम रुपमा पाउन सकेको छैन ।

दुबै कार्यदलमा रहेका धेरै नेताहरु मन्त्री भएपछि एकता प्रक्रियाका दस्तावेज लेखनको काम पनि प्रभावित बनेको छ । पार्टी एकता संयोजन समितिले फागुन ७ गते १५ दिनको कार्यावधिसहित माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो। नेपालवाणीबाट साभार