संविधान कार्यान्वयन गर्न सहिदको सपना प्रेरणादायीः प्रधानमन्त्री

काठमाडौं, माघ १६-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनु भएको छ ।

सहिद दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्नु भएको छ ।

माघ १६ नेपाल र सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ, सन्देशमा उल्लेख छ।

नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा सहिदहरूको योगदान उच्च रहेको बताउँदै प्रधानमन्त्री दाहालले राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकालविरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेस आन्दोलनलगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जेजति उपलब्धि प्राप्त गरेको र महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको सन्देशमा उल्लेख गर्नु भएको छ।

सन्देशमा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महसुस गर्न आजको ऐतिहासिक दिनबाट शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नु भएको छ ।
यसैविच
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान शहीद त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उहाँहरूले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गर्नुभएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात शहीदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले वीर, अमर, त्यागी  र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताउनुभएको छ ।