अमेरिकामा ट्रम्पको आदेशलगत्तै विमानस्थलबाटै शरणार्थी पक्राउ

एजेन्सी, माघ १६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई कडाई गर्न आदेश दिएलगत्तै अमेरिकी विमानस्थलबाटै शरणार्थी पक्राउ गरिएको छ ।न्यूयोर्कमा हिरासतमा लिइएका शरणार्थीलाई रिहाई गर्न केही मानवअधिकारवादी संगठनहरुले कानूनी बाटो अख्तियार गरेका छन् ।

ट्रम्पको आदेशलगत्तै जोन एफ केनेडी विमानस्थलबाट दुई इराकी शरणार्थीलाई हिरासतमा लिइएको हो ।जसमध्ये एक जना अमेरिकी सेनाका लागि अनुवादकको काम गर्दथे । उहाँलाई रिहा गरेपनि अर्का एक जना भने अझै हिरासतमै रहेका छन् । न्यूयोर्ककै सांसद जेरी नैडलरले अरु ११ शरणार्थीको मद्दतका लागि आफूले काम गरिरहेको जानकारी दिएका छन् ।

ट्रम्पको यस आदेशको विरोधमा प्रदर्शनहरु भएका छन् भने अरु देशका थुप्रैं विमानस्थलमा अमेरिका जाने यात्रीलाई रोकिएको खबर छ ।अमेरिकी आदेशको संयुक्त राष्ट्रसंघ र यूरोपेली मुलुकले आलोचना गरेका छन् । ईरानले यो इस्लामिक विश्वको अपमान भएको भन्दै जवाफ फर्काइने र अमेरिकीलाई पनि ईरान आउन नदिने चेतावनी दिएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले सिरियाली आप्रवासीलाई अर्को सूचना जारी नभएसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुका साथै अरु ७ मुस्लिम मुलुक इराक, इरान, लिविया, सोमालिया, सुडान र यमनका नागरिकलाई पनि अमेरिका प्रवेशमा तीन महिनाका लागि रोक लगाइने घोषणा गर्नु भएको थियो ।यद्यपि, उहाँले आफ्नो देश र देशवासीलाई माया र सहयोग गर्ने मुलुकका जनतालाई भने आफ्नो देशमा आउन दिने बताउनुभयो । साभार न्युज ईमेज खबरबाट