वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको रुसलाई आदेश

एजेन्सी,भदौं,१६-

अमेरिकाले रुसलाई सान फ्रान्सिस्कोस्थित उसको वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ ।रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द आदेश दिएको हो ।

यसैगरी व्यापारिक अरु दुई मिशन पनि बन्द गर्न अमेरिकाले रुसलाई भनेको छ । गत महिना रुसले उसको देशमा रहेका अमेरिकी कूटनीतिज्ञको संख्या घटाएको थियो, जसको जवाफमा यो कदम लिइएको जनाइएको छ । यसअघि क्रिमियामा रुसी कब्जा र अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विरोधमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमाथि प्रतिबन्ध लगाउँदै ३५ रुसी कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश दिएका थिए ।

सोही बेला ओबामाले मेरील्याण्ड र न्यूयोर्कमा रहेको रुसका दुई कूटनीतिक कार्यालय बन्द गराइदिएका थिए । उता रुसले भने गत जुलाईमा ७५५ अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो ।