अफगानिस्तानबाट १० दिनमा फर्किए १६४ नेपाली

चार सय नेपाली दोहा पुगे !!

अफगानिस्तान,साउन,३२-तालिबानले आक्रमण बढाएपछि अफगानिस्तानबाट बितेका १० दिनमा १६४ जना नेपाली फर्किएका छन्। यस अवधिमा २ जना अफगानी नागरिक पनि नेपाल आएका छन्। 

साउन २१ गतेदेखि ३२ गतेसम्ममा यो संख्यामा नेपाली फर्किएका हुन्। उनीहरु केही कतार र केही युएई हुँदै काठमाडौं आएका हुन्। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा अभियान थालेपछि त्यहाँ रहेका आप्रवासीले देश छोड्न थालेका थिए। यो क्रम अहिले पनि जारी छ।

अहिले तालिबान काबुल पुगेर सत्ता कब्जा गरिसकेको छ। अफगानिस्तानबाट विभिन्न देशले आफ्ना नागरिक फर्काइरहेका छन्। 

आइतबार त्यहाँको विद्रोही संगठन तालिबानले सत्ता हत्याइसकेपछि पनि अमेरिकासहितले आफ्ना नागरिक फर्काइरहेका छन्। 

त्यहाँ करिब १५ सय नेपाली श्रम स्वीकृति लिएर पुगेका थिए। तर अवैध रुपमा जानेको संख्या पनि उत्तिकै रहेकाले जम्मा नेपाली तथ्यांक पत्ता लाग्न सकेको छैन। 

नेपाल सरकारले अझैसम्म आफ्ना नागरिक फर्काउन थालेको छैन। त्यहाँका कुटनीतिक नियोगहरूमा कार्यरत नेपालीलाई सम्बन्धित देशले नै फर्काइदिन थालेका छन्। 

सोमबारसम्ममा झण्डै चार सय नेपाली दोहा पुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाले त्यहाँ पुर्‍याएको हो। 

अब नेपाल फर्किने व्यवस्था पनि अमेरिकाले नै गर्ने भएको छ। अन्य नियोगहरूले पनि आफ्नो कार्यालयमा कार्यरत प्रवासी नागरिकलाई स्वदेश फर्किने व्यवस्था गरिरहेका छन्।
 
नेपाल सरकारले यहाँस्थित नियोगहरूलाई आफ्ना नागरिक फर्काउँदा नेपालीलाई पनि ल्याइदिन औपचारिक आग्रह गरेको थियो। 

म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका श्रमिकको उद्धारका लागि कम्पनीसँगै सरकारले आग्रह गरेको छ। व्यक्तिगत रुपमा त्यहाँ पुगेकाहरूलाई अनलाइनमा दर्ता गर्न सरकारले आग्रह गरेर सूचना निकालेको छ। 

आइतबार साँझबाट अफगानिस्तानबाट उद्धार गर्नुपर्ने नेपालीको विवरण दर्ता गर्न परराष्ट्र मन्त्रालयले अनलाइन आवेदन लिन सुरु गरेको छ।नेपालखबर