नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण,मित्रराष्ट्रहरुको बधाई

राष्ट्रपति पौडेलको पहिलो निर्णय : मोरक्कोका लागि राजदूत नियुक्त

काठमाडौं,फाल्गुन,२९-नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गर्नुभएको छ।सोमबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उहाँले पदभार सम्हल्नु भएको हो।

उहाँलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएको हो।पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो।

यसैविच:नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै गैरआवासीय राजदूत नियुक्त गर्दै पहिलो निर्णय गर्नु भएको छ।

उहाँले आज पदभार ग्रहण गर्दै गैरआवासीय राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालय राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो।

यस्तै :राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ।राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराउनुभएको छ ।

साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गर्नुभएको छ ।

त्यसैगरी:नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ।राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हो ।

सो पत्रमा उहाँले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गर्नुभएको छ ।

यस्तै:राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ।सोमबार काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल ट्विटरमार्फत् राष्ट्रपति पौडेललाई बधाई दिनुभएको हो।राष्ट्रपति पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास राखेको उहाँले उल्लेख गर्नुभएको छ।

त्यस्तै:नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ।पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो।साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ।

‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई।नेपाल-पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौं,’ सन्देशमा भनिएको छ। 

यसैगरी:नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ।पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले उहाँलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।