“ए”डिभिजन लिग : थ्री स्टार र खुमलटार विजयी

काठमाडौं,फाल्गुन,२९-शहीद स्मारक ए डिभिजन लिगमा सोमवार भएको खेलमा सातदोबाटो युथ क्लबको लगातार तीन खेलको अपराजित यात्रामा थ्री स्टार क्लबले ब्रेक लगाएको छ ।

आदित्य शाक्यले खेलको अन्त्यतिर गरेको एक मात्र गोल मद्दतमा दशरथ रंगशालमा भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १-० ले हरायो ।आदित्यले ८९ औं मिनेटमा अन्जल महर्जनको कर्नरलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जारी लिगमा दोस्रो जित निकालेको थ्रीस्टार चार खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ।जावलाखेल समान ७ अंक भए पनि थ्रीस्टार गोल अन्तरमा पछि रहेको छ ।

लिगमा ललितपुरे क्लबको दबदबा कायम रहँदा शीर्ष पाँचमा ललितपुरका क्लब छन् ।लगातार तीन खेल जितेर उत्कृष्ट सुरुवात गरेको सातदोबाटोको भने लिगमा यो पहिलो हार हो ।

चार खेलबाट ९ अंकसहित सातदोबाटो दोस्रो स्थानमै छ । सातदोबाटोको हारपछि जारी लिगमा तीन टिम मात्र अपराजित छन् भने चर्च ब्वाइज युनाइटेड मात्रै शतप्रतिशत जित निकाल्ने एक्लो टिमको रुपमा छ।चर्च ब्वाइजसँगै त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब अपराजित छन् ।

यसैविच : सोमवार नै भएको अर्को खेलमा खुमलटारले हिमालयन शेर्पालाई पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ ।च्यासल मैदानमा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ ले हराएको हो।

च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एकएक गोल गरे । मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल थप्दै खुमलटारको जित निश्चित गरेका हुन् ।

यस्तै, हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए । यो गोल ८० औं मिनेटमा सम्भव भएको थियो।यो जितपछि माथिल्लो डिभिजनमा डेब्यु गरिरहेको खुलमटारको चार खेलबाट छ अंक भएको छ र चौथो स्थानमा उक्लिन सफल रह्यो ।हिमालयन शेर्पा भने चार अंकमै सीमित रह्यो र दसौं स्थानमा झरेको छ ।