प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं,चैत्र,१८-प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै हुनुहुन्छ ।मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उहाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

गत असारमा प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, तथा अन्य मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, संचारकर्मी र उद्योगी ब्यवसायी गरी ५० जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि शनिबार दुई पक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवासँग आजै साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले भेट्नु हुने छ भने प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकैया नायडूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा भोलि शनिबार साँझ बनारस जाने कार्यक्रम छ । त्यहाँ उहाँले विश्वनाथ मन्दिर र नेपाली पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ।प्रधानमन्त्री देउवा आइतबार साँझ स्वदेश फर्कनु हुने छ ।